उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२० बजे ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको संयुक्त प्रमुख स्टाफले विज्ञप्तिमार्फत जनाएको छ। क्षेप्यास्त्रहरू करिब ३५० किलोमिटर दूरीसम्म प्रहार गरिएको बताइएको छ।
दक्षिण कोरियाली सेना ‘कुनै पनि उक्साहटको जवाफ दिन’ तयार रहेको संयुक्त प्रमुख स्टाफले जनाएको छ। जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत प्रक्षेपणको पुष्टि गर्दै उक्त ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाबाटै प्रक्षेपण गरिएको जनाएको छ।
दक्षिण कोरियाली प्रधानमन्त्री किम मिन–सिओकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङका नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने निर्णय गरेको केही समयपछि यो घोषणा आएको बताएका छन्।वासिङ्टनले दशकौँदेखि उत्तर कोरियाको आणविक कार्यक्रम अन्त्य गर्ने प्रयासको नेतृत्व गरिरहेको जनाइएको छ। ट्रम्प प्रशासनले पछिल्लो समय प्योङयाङसँग उच्चस्तरीय वार्तालाई पुनर्जीवित गर्न दबाब दिँदै आएको छ।
अक्टोबरमा एसियाको भ्रमणका क्रममा ट्रम्पले किम जोङ–उनसँग भेटका लागि आफू खुला रहेको बताएका थिए भने उत्तर कोरियाले उक्त टिप्पणीको जवाफ दिएको थिएन।महिनौँसम्म ती प्रस्तावहरूलाई धेरै हदसम्म बेवास्ता गरेपछि किम जोङ–उनले हालै वासिङ्टनले प्योङयाङको आणविक स्थितिलाई स्वीकार गरेमा दुई राष्ट्रबीच मेलमिलाप हुन सक्ने बताएका छन्।
हाल विश्वको ध्यान मध्यपूर्वको युद्धतर्फ केन्द्रित रहेको अवस्थामा उत्तर कोरियाले आफ्नो उपस्थितिमा ध्यान आकर्षित गर्न ऐतिहासिक रूपमा सैन्य उक्साहट गर्दै आएको कोरिया सैनिक मामिला अध्ययन संस्थानका वरिष्ठ अनुसन्धानकर्ता होङ सुङ–पियोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।
सन् १९५० मा आफ्नो छिमेकीमाथि आक्रमण गरी कोरियाली युद्ध सुरु गरेको परमाणु–सशस्त्र उत्तर कोरियाले लामो समयदेखि यस्ता अभ्यासलाई आक्रमणको तयारीका रूपमा व्याख्या गर्दै आएको छ।प्योङयाङले इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणलाई अवैध कार्य भन्दै निन्दा गरेको छ भने यसले अमेरिकाको दुष्ट प्रकृति देखाउने दाबी पनि गरेको छ।




