देश

शेरबहादुरलाई गोकुलले भने, ‘पदका लागि गुट बदल्ने म होइन’

काठमाडौं । नेकपा एमालेका दुई प्रभावशाली नेताहरू शेरबहादुर तामाङ र गोकुल बास्कोटाबीच सामाजिक सञ्जालमा तिखो वाकयुद्ध सुरु भएको छ । पार्टी नेतृत्वको आलोचना र बचाउ गर्ने क्रममा दुई पूर्वमन्त्रीबीच व्यक्तिगत गालीगलौजको शैलीमा आरोप-प्रत्यारोप चलेको हो ।

विवादको सुरुवात नेता तामाङको एउटा टिप्पणीबाट भएको थियो । तामाङले आफ्नो निर्वाचन क्षेत्रमा जनमत जोगाउन नसक्ने नेताहरूलाई नेतृत्वको राजीनामा माग्ने कुनै नैतिक अधिकार नहुने भन्दै नेतृत्वको प्रतिरक्षा गरेका थिए । नेतृत्वको आलोचना गर्नेहरू लक्षित तामाङको सोही टिप्पणीले आफूलाई असर परेको भन्दै काभ्रेका नेता गोकुल बास्कोटाले कडा प्रतिवाद गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै बास्कोटाले तामाङलाई ‘चरम अवसरवादी’ को संज्ञा दिएका छन् । तामाङको राजनीतिक निष्ठामाथि प्रश्न उठाउँदै बास्कोटाले लेखेका छन्, ‘आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने र पटक-पटक पार्टी फुटाउनसमेत पछि नपर्ने अवसरवादी पात्र म होइन ।’

बास्कोटाले अगाडि लेखेका छन्, ‘भन्न त मन थिएन, तर मेरो मत राख्दा कोदोबारी फाँडेसरह शेरबहादुर तामाङजी ममाथि सार्वजनिक रूपमा जाइलागेका छन् । म पदका लागि मरिहत्ते गर्ने र स्वार्थ अनुसार कित्ता परिवर्तन गर्ने व्यक्ति होइन ।’

सिन्धुपाल्चोकलाई राजनीतिक कार्यक्षेत्र बनाएका तामाङ र काभ्रेका बास्कोटा दुवै एमालेका हस्ती मानिन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *