काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देबराज चालिसेले पार्टीको वर्तमान अवस्थालाई आत्मसमीक्षा र पुनर्निर्माणको महान् अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । हालैको राजनीतिक उतारचढाव र चुनावी परिणामबाट विचलित नहुन आग्रह गर्दै उनले अबको सम्पूर्ण शक्ति संगठन निर्माण र आन्तरिक एकतामा केन्द्रित गर्न नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता चालिसेले कांग्रेसजस्तो ऐतिहासिक र वैचारिक धरातल बलियो भएको पार्टीलाई एउटा निर्वाचनको हारले मात्र कमजोर बनाउन नसक्ने स्पष्ट पारे । ‘नेपाली कांग्रेस चट्टानमाथि उभिएको एउटा अटल रूखजस्तै हो, जसलाई समयका सामयिक आँधीबेहरीले हल्लाउन त सक्छ तर ढाल्न सक्दैन ,’ प्रवक्ता चालिसेले भनेका छन् । उनले अगाडि थपेका छन्, ‘एउटा हारले कांग्रेस कहिल्यै पराजित हुँदैन । बरु यस्ता चुनौतीपूर्ण घडीले पार्टीलाई थप परिपक्व, अनुशासित र संगठित बन्ने अवसर प्रदान गर्दछन् ।’
पार्टीलाई अझ मजबुत बनाउन कार्यकर्ताको भूमिका निर्णायक हुने बताउँदै उनले रूखलाई मलिलो जमिनमा सारेर स्याहार गरेजस्तै संगठनलाई पनि नयाँ ऊर्जाका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रवक्ता चालिसेले आगामी निर्वाचनका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘निर्वाचन आउने र जाने प्रक्रिया हो । हामी अहिलेको अवस्थाबाट पाठ सिकेर अघि बढ्यौँ भने आगामी दिनमा झन् सशक्त र संगठित भएर विजयको यात्रा तय गर्नेछौँ ।’
राजनीतिक मैदानमा विरोधीहरूले कमीकमजोरी खोजेर प्रहार गर्नु स्वाभाविक भएको टिप्पणी गर्दै उनले कांग्रेसले त्यस्ता आलोचनाको प्रवाह नगरी आफ्नो लक्ष्यमा अविचलित भएर लाग्नुपर्ने बताए । ‘बाटो हेरेर आक्रमण गर्नु विरोधीहरूको धर्म नै हो, हाम्रो ध्यान त केवल संगठनको जग बलियो बनाउनेतर्फ हुनुपर्छ ,’ उनले उल्लेख गरे । नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य संवाहक कांग्रेस नै भएको स्मरण गराउँदै उनले भविष्यमा पनि देशको नेतृत्व गर्ने सामर्थ्य कांग्रेससँगै रहेको दाबी गरे । ‘कांग्रेस फेरि उठ्नेछ, जनविश्वास जित्नेछ र मुलुकलाई समृद्धिको दिशामा डोहोऱ्याउन पुनः नेतृत्वमा पुग्नेछ ,’ प्रवक्ता चालिसेले दृढ विश्वासका साथ भनेका छन् ।




