काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर नेपाली कांग्रेसले पार्टीभित्र समीक्षा प्रक्रिया सुरु गर्ने भएको छ। निर्वाचनको परिणाम र त्यसले पार्टीमा पारेको प्रभावबारे छलफल गर्न चैतको पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी गरिएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले निर्वाचनको समग्र अवस्थाबारे अध्ययन गर्न विभिन्न जिल्लाबाट विवरण मागिएको जानकारी दिएका छन्। उनका अनुसार जिल्लाबाट आउने प्रतिवेदनका आधारमा केन्द्रीय समितिमा विस्तृत समीक्षा गरिनेछ। अहिले विभिन्न जिल्लाबाट रिपोर्ट आउने क्रम जारी रहेको उनले बताए।
गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक दोस्रो स्थानमा सीमित भएको छ। निर्वाचन परिणामका कारण संसद्मा पार्टी कमजोर प्रतिपक्षको भूमिकामा रहने अवस्था देखिएको छ।
नतिजाअनुसार कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट गरी कुल ३८ सिट प्राप्त गरेको छ। यही परिणामलाई आधार बनाएर पार्टीले आगामी राजनीतिक रणनीति तय गर्न बैठकमार्फत गम्भीर छलफल गर्ने तयारी गरेको जनाएको छ।




