काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी इटालियन प्रशिक्षक गुग्लिएल्मो एरेनालाई दिइएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित आफ्नो मुख्य कम्प्लेक्समा महासचिव किरण राईको उपस्थितिमा एरेनासँग नियुक्ति पत्रमा हस्ताक्षर गरेको जनाएको छ। एन्फाले उनको सम्झौताको विवरण भने सार्वजनिक गरेको छैन।
५२ वर्षिय एरेनाले आफ्नो पहिलो जिम्मेवारी मार्च २६ मा दशरथ रंगशालामा हुने नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट सुरु गर्ने भएका छन्।
एरेनाको अनुभव उल्लेखनीय छ। उनले यसअघि लाओसको राष्ट्रिय टिम प्रशिक्षण सम्हालेका थिए भने पछिल्लो समयमा मोरक्कोको क्लब मग्रेब फेजको प्रशिक्षकको रूपमा काम गरेका थिए। एरेना एएफसी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्, जसले उनलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फुटबलमा उच्च अनुभव प्राप्त प्रशिक्षकको रुपमा चिनाएको छ।
एन्फाले विश्वास व्यक्त गरेको छ कि एरेनाको नेतृत्वमा राष्ट्रिय टोलीले आगामी प्रतियोगितामा प्रदर्शन सुधार्दै युवा खेलाडीहरूको क्षमताको विकास गर्नेछ।




