काठमाडौं । नेकपा एमाले कास्कीका इन्चार्ज तथा वरिष्ठ नेता कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ। उनलाई अस्वस्थ भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको एमाले कास्कीले पुष्टि गरेको छ। एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीका अनुसार जिल्ला कमिटीले आयोजना गरेको चुनावी समीक्षा बैठकका क्रममा थापा अचानक ढलेका थिए। त्यसपछि तत्काल अस्पताल लगिए पनि चिकित्सकले बचाउन सकेनन्। अस्पताल स्रोतले पनि उनको निधन भएको पुष्टि गरेको छ।
कृष्ण थापा पोखराको स्थानीय राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिन्थे। उनी २०५४ सालमा पोखरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। पछि २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यका रूपमा पनि निर्वाचित भएका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए, तर पराजित भएका थिए। पछिल्लो निर्वाचनका लागि सुरुमा उनलाई टिकट दिइए पनि पछि सो टिकट रश्मी आचार्यलाई प्रदान गरिएको थियो।
कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष समेत रहेका थापा जेनजी आन्दोलनपछि सम्पन्न एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत बनेका थिए। थापाको निधनले एमाले कास्की मात्र होइन, पोखराको राजनीतिक वृत्तमा शोकको वातावरण सिर्जना भएको छ। पार्टी नेता तथा कार्यकर्ताहरूले उनको योगदान स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।




