देश

मानव तस्करीको जालमा फँसेका १६ नेपाली कम्बोडियाबाट उद्धार, स्वदेश फिर्ता

काठमाडौं । मानव तस्करीको प्रलोभनमा फँसेर कम्बोडियामा अलपत्र परेका १६ जना नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ। उनीहरूलाई अनलाइन ठगी (स्क्यामिङ) र क्यासिनोमा जबर्जस्ती काममा लगाइएको थियो। उद्धारमा थाइल्याण्डस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरण महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। दूतावासका अनुसार उद्धार गरिएका मध्ये केही नेपालीहरू अवैध रूपमा कम्बोडियामा बसिरहेका थिए।

दूतावासले अझै त्यहाँ कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूको उद्धारका लागि पहल निरन्तर भइरहेको जानकारी दिएको छ। साथै, भिसा म्याद सकिएको वा जबर्जस्ती काममा फसेका नेपालीहरूले तुरुन्त दूतावास वा एनआरएनए कम्बोडियासँग सम्पर्क गर्न आग्रह गरिएको छ।

नेपाल फर्काउने प्रक्रियामा, पीडितको राहदानी जफत हुने वा हराउने समस्या देखिएकाले दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्रको व्यवस्था पनि गरेको जनाएको छ।

थाइल्याण्डस्थित दूतावासले सर्वसाधारणलाई मानव तस्करको प्रलोभनमा नपर्न र छिटो पैसा कमाउने लोभमा नपर्ने चेतावनीसमेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *