देश

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालय बन्ने प्रक्रियामा, हेटौँडा अस्पतालमा नयाँ सेवा विस्तार

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकट भविष्यमा विश्वविद्यालयको रुपमा विकसित गर्ने योजना सुरु भइसकेको जानकारी दिनुभएको छ।

यस अवसरमा हेटौँडा अस्पतालमा २०० शय्याको विशिष्टकृत सेवा प्रदान गर्ने नयाँ भवनको आज औपचारिक उद्घाटन गरिएको छ। मुख्यमन्त्री बानियाँले बताउनुभयो, “प्रतिष्ठानमा भर्ना भएका विद्यार्थीहरूले प्रमाणपत्र लिने समयसम्म यो प्रतिष्ठान मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा परिणत भइसकेको हुनेछ। प्रदेश सरकारले यसका लागि आवश्यक तयारी अघि बढाइसकेको छ।”

मुख्यमन्त्री बानियाँले जनताको स्वास्थ्य र शिक्षामा राजनीति गर्न नहुने र लोकतन्त्रले गरिबलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रतिष्ठानको सेवा विस्तार हेटौँडा अस्पतालमा मात्र सीमित नराखी प्रदेशका १३ जिल्लाका अस्पतालसम्म विशेषज्ञ सेवा पुर्‍याउने योजना रहेको जानकारी दिनुभयो।

उहाँले हेटौँडा अस्पतालमा डायलोसिस सेवा विस्तार गर्दै १४ मेसिनबाट बढाएर ३० मेसिन पुर्‍याइएको र स्वास्थ्य जनशक्ति र भौतिक पूर्वाधार अभाव नहुने व्यवस्था गरिएको उल्लेख गर्नुभयो।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले पनि जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि र उपकरणको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रदेश सरकारले गरिब विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने योजना अघि बढाइरहेको उहाँले बताउनुभयो।

पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र पूर्वस्वास्थ्यमन्त्री एकालाल श्रेष्ठले नयाँ भवन निर्माणसँगै स्वास्थ्य सेवामा सहजता र गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाका प्रमुख इञ्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार, अस्पताल भवन निर्माणमा भ्याटसहित कुल २६ करोड ६४ लाख २५ हजार २८० रुपैयाँ खर्च भएको छ।

यससँगै बागमती प्रदेश सरकारले स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने र प्रदेशका सबै जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य तय गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *