काठमाडौंं । सिरहा सदरमुकाममा जिल्ला अदालत नजिकै भएको बम विस्फोटमा एक जना घाइते भएका छन्।
सिरहा बजारस्थित जिल्ला अदालतको आसपास रहेको एक ल फर्ममा मंगलबार दिउँसो करिब ४ः१५ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार विस्फोटमा एक व्यक्ति सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पतालमा पठाइएको छ।
“घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी आएको छ,” डीएसपी पालले बताए।
घटनाको कारण र संलग्न व्यक्तिबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।




