मुख्य समाचार

धरानमा पार्किङ ६ बसमा कसरी लाग्यो आगलागी ?

काठमाडौं । सुनसरीको धरान स्थित एक ग्यारेजमा पार्किङ गरेर राखिएका ६ वटा बसमा मंगलबार राति आगलागी हुँदा तीनवटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनमा आंशिक क्षति पुगेको छ। धरान उपमहानगरपालिका–८ मा रहेको अटल ग्यारेजमा पार्किङ गरिएका बसमा आगलागी भएको हो। घटनापछि स्थानीय बासिन्दा, दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का अनुसार आगलागीबाट को १ ख ६२७४ नम्बरको कृष्ण बस, प्र १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात र बा ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पूर्ण रूपमा जलेका छन्। यस्तै को १ ख ३८४७ नम्बरको सुपर मादेन बस, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा भने आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बसभित्रको विद्युतीय तार सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको डीएसपी खड्काले बताए। “हालसम्म कसैले नियोजित रूपमा आगजनी गरेको संकेत भेटिएको छैन,” उनले भने, “सीसीटीभी फुटेज हेर्दा पनि कुनै शंकास्पद गतिविधि देखिएको छैन, तर घटनाबारे थप अनुसन्धान जारी छ।”

प्रहरीका अनुसार को १ ख ६२७४ नम्बरको बसबाट आगो सुरु भएको देखिएको छ। विराटनगर–धरान रुटमा सञ्चालन हुँदै आएको उक्त बस एक महिनाअघि पनि गुडिरहेकै अवस्थामा आगलागीको घटनामा परेको थियो।

उक्त बस मंगलबार राति करिब ९ बजे ग्यारेजमा पार्किङका लागि प्रवेश गरेको र करिब साढे ९ बजेदेखि आगलागी सुरु भएको अनुमान गरिएको छ। घटनाबारे प्रहरीलाई भने राति करिब १० बजे मात्रै जानकारी पुगेको डीएसपी खड्काले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *