काठमाडौं । सुनील शर्माले प्रतिनिधिसभा निर्वाचनको परिणामले आफ्नो समाजसेवामूलक अभियानमा कुनै असर नपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता समेत रहेका शर्माले हालै सम्पन्न निर्वाचनमा पराजित भएपछि आफूले सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य सेवा बन्द भएको भन्ने हल्ला निराधार भएको स्पष्ट पारेका हुन्। उनले एक सार्वजनिक सूचनामार्फत विपन्न नागरिकका लागि उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवा निरन्तर जारी रहने प्रतिबद्धता जनाएका छन्।
उनका अनुसार नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमार्फत लामो समयदेखि सञ्चालन हुँदै आएको निःशुल्क तथा सहुलियत उपचार कार्यक्रम आगामी दिनहरूमा पनि यथावत् रहनेछ। उनले चुनावी हार–जित र सामाजिक सेवाबीच कुनै सम्बन्ध नहुने उल्लेख गर्दै समाज र राष्ट्रप्रतिको दायित्वलाई निरन्तरता दिने बताए।
डा. शर्माले आर्थिक रूपमा कमजोर वर्गलाई प्राथमिकतामा राखेर छुटदेखि पूर्ण निःशुल्क उपचारसम्मको सुविधा प्रदान गर्दै आएको पनि स्मरण गराए। साथै बजारमा फैलिएका भ्रममा नपर्न आग्रह गर्दै आवश्यक जानकारीका लागि सम्बन्धित वडामा रहेका संस्थाका प्रतिनिधिसँग सम्पर्क गर्न उनले अनुरोध गरेका छन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की ३६ हजार ९२४ मतसहित विजयी भएका थिए भने शर्मा २४ हजार ३५४ मतसहित दोस्रो स्थानमा रहेका थिए। चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि स्वास्थ्य क्षेत्रमार्फत समाजसेवाको अभियानलाई निरन्तरता दिने उनले बताएका छन्।





