निर्वाचनपछि एमाले उपमहासचिव भट्टराईको ७ बुँदे प्रतिक्रिया ः हामी ढलेका मात्र हौं, मरेका होइनौं’
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनमा पार्टीको नीति र नेतृत्वप्रति जनताले दिएको स्पष्ट अस्वीकृतिलाई स्वीकार गर्दै आफ्नो पहिलो प्रतिक्रिया सार्वजनिक गरेका छन्। निर्वाचनपछिका अनुभव र कार्यकर्ता तथा शुभेच्छुकहरूसँगको संवादलाई आधार मानेर भट्टराईले सात बुँदे आफ्नो प्रारम्भिक विचार साझा गरेका छन्। उनले आफ्नो स्टाटसमा लेखेका छन् – “हामी ढलेका मात्र हौं, मरेका होइनौं”।
भट्टराईले पहिलो बुँदामा भनेका छन् कि निर्वाचनमार्फत जनताले शान्तिपूर्ण तर स्पष्ट रूपमा पार्टीको नीति र नेतृत्व अस्वीकृत गरेको छ। यसको सामना गर्न पार्टीभित्र सर्वाङ्गीण रूपान्तरणमार्फत पुनः जनसमर्थन हासिल गर्नु आवश्यक रहेको उनको मत छ।
दोस्रो बुँदामा उनले विगतका नीति र निर्णयहरूमा सुधारको माग लगातार उठाइए पनि पर्याप्त ध्यान नपाइएको र अब पुनः खुला बहस र छलफलको आवश्यकता रहेको औँल्याए।
तेस्रो बुँदामा जिम्मेवारी र जवाफदेहिता महत्वपुर्ण भएको उल्लेख गर्दै, पार्टीको असफलतामा नीति बनाउने र कार्यान्वयन गर्ने सबै तहगत कमिटी तथा नेतृत्वले हिस्सेदारी बोकेको हुनुपर्ने बताए।
चौथो बुँदामा भट्टराईले सामूहिक बुद्धि, विवेक र पहलमार्फत पार्टीलाई वर्तमान अवस्थामा फर्काउन सकिने उल्लेख गर्दै सबै नेता, कमरेड र सदस्यहरूलाई गुटगत सीमाबाट बाहिर निस्केर खुला बहसमा सहभागी हुन आह्वान गरे।
पाँचौँ बुँदामा उनले पुनः दोहोर्याए – “सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत हामी उठ्ने छौं र पार्टी, जनता र राष्ट्रको स्वाभिमान फेरी उठाउने छौं”।
छैटौँ बुँदामा राजनीतिक दल सार्वजनिक संस्था भएकाले सुझाव, आलोचना र टिप्पणी खुला रूपमा पठाउन बुद्धिजीवी र आम नागरिकलाई अपिल गरेका छन्।
सातौँ र अन्तिम बुँदामा उनले राष्ट्रिय एकता, नेपाली सार्वभौमिकता र बाम लोकतान्त्रिक विचारधाराको रक्षा सबैको साझा जिम्मेवारी भएको भन्दै, जनादेशको सम्मान र राजनीतिक सहकार्यको अपिल गरे।
भट्टराईको ७ बुँदे ब्रिफिङले एमालेभित्र आत्मसमिक्षा, संगठन सुधार र खुला बहसको आवश्यकतालाई प्राथमिकताका साथ अघि ल्याएको छ, जसले आगामी रणनीति र नेतृत्व पुनः निर्माणमा मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।




