काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हालै सम्पन्न आम निर्वाचनको परिणामलाई सम्मान गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले यसपटकको निर्वाचनमा देखिएको असामान्य परिणामका पछाडि विभिन्न कारणहरू रहेको बताएका छन्। महतका अनुसार स्थापित राजनीतिक दलप्रति मतदातामा बढ्दै गएको असन्तुष्टि, सामाजिक सञ्जालको योजनाबद्ध प्रयोग तथा भदौ २३ गतेको घटनाजस्ता विषयले निर्वाचन परिणाममा प्रभाव पारेका छन्। ती सबै पक्षहरूको आगामी दिनमा विस्तृत विश्लेषण गरिने उनले उल्लेख गरेका छन्।
नेपाली कांग्रेस पनि उक्त प्रभावबाट अछुतो नरहेको उल्लेख गर्दै महतले नुवाकोट–१ मा समेत यसको असर परेको बताए। प्रतिकूल परिस्थितिका बाबजुद आफूलाई प्रतिस्पर्धी मत प्रदान गरी विश्वास प्रकट गर्ने सम्पूर्ण मतदाताप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्। उनले चुनावी अभियानका क्रममा दिनरात खटिएका पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि क्षेत्रको विकास र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, उक्त निर्वाचन क्षेत्रमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. विक्रम तिमिल्सेनालाई महतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।




