काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभर प्रभावशाली रूपमा अघि बढेको देखिएको छ। हालसम्म सार्वजनिक भएको विवरणअनुसार रास्वपाले ४० जिल्लामा ‘क्लिन स्विप’ गर्दै सबै निर्वाचन क्षेत्र जितेको दाबी गरिएको छ।
प्राप्त नतिजा तथा प्रारम्भिक तथ्याङ्कअनुसार झापा, मोरङ, उदयपुर, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, रुपन्देही, कैलाली लगायतका जिल्लामा रास्वपाले सबै निर्वाचन क्षेत्र जितेको विवरण सार्वजनिक भएको छ।
झापाका पाँचै क्षेत्र, मोरङका छवटै क्षेत्र, काठमाडौंका १० वटै क्षेत्र, रुपन्देहीका पाँचवटै क्षेत्र तथा कैलालीका पाँचवटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएको बताइएको छ। त्यसैगरी ललितपुरका तीनवटै, भक्तपुरका दुईवटै, चितवनका तीनवटै र कास्कीका तीनवटै क्षेत्रमा पनि रास्वपाले विजय हासिल गरेको जनाइएको छ।
यसैगरी ओखलढुङ्गा, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, डडेल्धुरा र बैतडी जस्ता एक–एक निर्वाचन क्षेत्र भएका जिल्लामा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन्।
त्यसैगरी धादिङ, मकवानपुर, तनहुँ, बागलुङ, नवलपरासी (पूर्व), गुल्मी, कपिलवस्तु, बर्दिया, नवलपरासी (पश्चिम), काभ्रेपलाञ्चोक, स्याङ्जा, नुवाकोट लगायतका दुई–दुई निर्वाचन क्षेत्र भएका जिल्लामा पनि रास्वपाले सबै क्षेत्रमा जित निकालेको विवरण सार्वजनिक भएको छ।
गोरखामा दुई क्षेत्रको नतिजा आइसकेको रास्वपाले दुवै जितिसकेको छ भने गोरखा–१ मा पनि रास्वपाका उम्मेदवारको अग्रता कायम रहेकाले जित लगभग निश्चित मानिएको छ।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी भए पनि हालसम्मको नतिजाले देशभर रास्वपाको बलियो लहर देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।




