देश

विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफलः कानुनमन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भएको बताएका छन् । आज निर्वाचन आयोगमा भएको समीक्षा बैठकपछि उनले विषम अवस्थामा निर्वाचन गराउने दायित्वसहित गठन भएको सरकारले मुख्य काम सम्पन्न गरेको बताए ।

सुरक्षा निकायको समन्वय र सरकारले स्रोत, साधनको समयमै व्यवस्था गरिदिएर निर्वाचन सम्पन्न गराउन सहयोग गरेको मन्त्री सिन्हाको भनाइ थियो । “विभिन्न खालका दबाब आउँदा पनि आयोगले निर्वाचन कार्यतालिकामा हेरफेर नगरी काम गरेर समयमै निर्वाचन सम्पन्न गराउन नेतृत्वदायी भूमिका खेलेको छ,” उनले भने, “निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलसँग समन्वय भएको थियो ।”

उनले मतदानअघि सुरक्षा निकायलाई स्वार्थ अनुकुल परिचालन नगरे राम्रो परिणाम निस्कन्छ भन्ने यो निर्वाचनबाट देखिएको समेत उल्लेख गरे । मन्त्री सिन्हाले निर्वाचनबाट असल संस्कृतिको सुरुवात भएको बताए । अब बन्ने सरकारले बदलाको भावनाले काम नगरी जनतालाई सहज सेवा दिई आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने उनको सुझाव छ ।

नयाँ संसद् भवनमा संसद्को पहिलो बैठक निर्वाचित सांसदको बैठक बोलाउन संसदीय मामिला मन्त्रालयले न्यूनतम् आवश्यकता पूरा गर्ने मन्त्री सिन्हाले बताए । सिंहदरबारभित्र निर्माणाधिन नयाँ संसद् भवनमै संसद्को पहिलो बैठक बोलाउने गरी तयारी भइरहेको पनि मन्त्री सिन्हाले जानकारी दिए ।

भोलिदेखि नै संसद्को अधिवेशन तयारीका लागि थप काम गरिने जानकारी पनि उनले बताए । समीक्षा बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर राणा, आयोगका सचिव कृष्णबहादुर राउत, सुरक्षा निकायका प्रमुखलगायत उच्च अधिकारीहरुको सहभागिता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *