काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर–१ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। उक्त क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्। राईले कुल १६ हजार ६१२ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन्। उनले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई उल्लेख्य मतान्तरले पछि पार्दै जीत हात पारेका छन्। निर्वाचन परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देव विक्रम राईले १२ हजार ७१४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार वीर काजी राईले ११ हजार ९५७ मतसहित तेस्रो स्थान हासिल गरेका छन्। विजेता आरेन राईले निकटतम प्रतिस्पर्धी एमालेका देव विक्रम राईलाई ३ हजार ८९८ मतान्तरले पराजित गरेका हुन्। यो जितसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा आफ्नो खाता खोल्न सफल भएको छ।
अब खोटाङसँगै देशको मुद्दा उठाउने जिम्मेवारी आर्यन राईको काँधमा
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार आर्यन (आरेन)राई विजयी भएसँगै नयाँ राजनीतिक सन्देश बाहिरिएको छ। १६ हजार ६१२ मत प्राप्त गर्दै उनले नेकपा एमालेका देवविक्रम राई र नेपाली कांग्रेसका वीरकाजी राईलाई पछि पार्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन्। एमाले उम्मेदवार देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गर्दा कांग्रेसका वीरकाजी राई ११ हजार ९५७ मतसहित तेस्रो स्थानमा रहे। यो परिणाम केवल एक निर्वाचन क्षेत्रको जित मात्र होइन, नयाँ राजनीतिक धाराको संकेतका रूपमा पनि हेरिएको छ। श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा पहिलो पटक खाता खोल्दा खोटाङका मतदाताले वैकल्पिक नेतृत्वप्रति विश्वास व्यक्त गरेको विश्लेषण गरिएको छ। अब आर्यन राईको काँधमा खोटाङको मात्र होइन, राष्ट्रिय स्तरका मुद्दा उठाउने जिम्मेवारी पनि थपिएको छ। चुनावी अभियानका क्रममा खोटाङका नागरिकहरूले रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र पूर्वाधार विकासलाई प्रमुख मागका रूपमा अघि सारेका थिए। यही अपेक्षा अब संसद्मा प्रतिनिधित्व गर्ने नेतृत्वबाट पूरा हुने आशा गरिएको छ।
प्राकृतिक स्रोत, धार्मिक स्थल र कृषि सम्भावनाले समृद्ध खोटाङ अझै आर्थिक विकासको दृष्टिलेपछि परेको जिल्ला मानिन्छ। अर्गानिक कृषि उत्पादन, जडीबुटी, फलफूल खेती तथा पर्यटनका पर्याप्त सम्भावना हुँदाहुँदै पनि ती सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्ने नीति र लगानीको अभाव देखिँदै आएको छ। हलेसी महादेव खोटाङ जिल्लामा रहेको नेपालको प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो। दिक्तेलबाट करिब ९ कोस पश्चिम हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको यो धाम समुद्री सतहबाट करिब ४,७३६ फिट उचाइमा अवस्थित छ। प्राकृतिक बनोटको ‘हलेसी गुफा’ विश्वमै अनौठो मानिन्छ।
हिन्दूहरूले यसलाई “पूर्वको पशुपति”, बौद्धमार्गीहरूले “मरातिक गुफा” वा “दोस्रो लुम्बिनी” र किराँत धर्मावलम्बीहरूले “आदिम भूमि”का रूपमा मान्ने गर्छन्। करिब २६ रोपनी क्षेत्रमा फैलिएको हलेसी धाममा महादेव (शिव), बसाहा र भैरवका तीन प्रमुख गुफा रहेका छन्। धार्मिक मान्यताअनुसार यहाँ दर्शन गर्दा दुःखबाट मुक्ति, सन्तान प्राप्ति, स्वास्थ्य लाभ र मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। रामनवमी, बाला चतुर्दशी, शिवरात्रि र तीजमा यहाँ ठूलो मेला लाग्छ, जहाँ नेपालसहित विभिन्न देशबाट तीर्थयात्री र पर्यटक आउने गर्छन्। अब यस महत्वपूर्ण धार्मिक स्थललाई विश्व सम्पदासुचीमा नामाकरण गर्ने विषयमा निर्वाचित राईले महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ । सो विषयमा अहिले ग्रामिण क्षेत्रदेखि राधानीका टापुमा समेत छलफल हुने गर्छ ।
२०७८ को जनगणनाअनुसार करिब १ लाख ७५ हजारभन्दा बढी जनसंख्या रहेको जिल्लामा उच्च शिक्षा, उद्योग र रोजगारीका अवसर सीमित छन्। सडक, स्वास्थ्य सेवा र अन्य आधारभूत पूर्वाधार अझै पर्याप्त रूपमा विकास हुन नसक्दा धेरै नागरिक रोजगारी र उपचारका लागि ठूला सहरतर्फ जान बाध्य छन्। जिल्ला अस्पतालमा आधुनिक उपकरण, दक्ष चिकित्सक तथा आवश्यक सेवा–सुविधाको अभाव पनि लामो समयदेखि उठ्दै आएको मुद्दा हो।
रोजगारी र उद्यम विकासको आवश्यकता
खोटाङमा कृषि, जडीबुटी र फलफूल उत्पादनको सम्भावना उच्च भए पनि त्यसलाई उद्योग र बजारसँग जोड्ने प्रयास कमजोर रहेको स्थानीयवासी बताउँछन्। घरेलु उद्योग, कृषि प्रशोधन उद्योग र स्थानीय उत्पादनको ब्रान्डिङजस्ता कार्यक्रम पर्याप्त रूपमा अघि बढ्न सकेका छैनन्। विदेशबाट फर्किएका युवाहरूलाई उद्यमशीलता कार्यक्रम, सहुलियत ऋण र प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था अझै प्रभावकारी बन्न नसकेको गुनासो पनि सुनिन्छ। जिल्लामा सीपमूलक शिक्षाको आवश्यकता पनि उत्तिकै देखिएको छ। सदरमुकाम नजिकै रहेको नाइमा मदन फाउन्डेसनले सञ्चालन गरेको आवासीय विद्यालयले विद्यार्थीलाई विभिन्न व्यावसायिक सीप सिकाउने प्रयास गरिरहेको उदाहरण स्थानीय स्तरमा सकारात्मक रूपमा लिइन्छ। त्यहाँबाट नयाँ उदाहरण लिएर देशव्यापी रुपमा यस्ता संस्थाहरु संचालनमा जोड दिन आवश्यक मानिन्छ । विशेषज्ञहरूका अनुसार स्थानीय तहहरूले यस्ता कार्यक्रम विस्तार गर्न सके युवालाई आफ्नै जिल्लामा रोजगारी सिर्जना गर्न मद्दत पुग्नेछ।
संसद्मा उठ्ने अपेक्षित मुद्दा
खोटाङका नागरिकहरूले कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, उद्योग स्थापना, सडक विस्तार, सुरक्षित खानेपानी, स्वास्थ्य सेवा सुधार र सुशासनलाई प्राथमिक मुद्दाका रूपमा अघि सारेका छन्। यससँगै त्रिधार्मिक आस्थाको केन्द्र हलेसी महादेवको अन्तर्राष्ट्रिय प्रवर्द्धन, मध्यपहाडी लोकमार्ग स्तरोन्नति, ऊर्जा तथा पर्यटनसँग जोडिएका परियोजनाहरू अघि बढाउने विषय पनि जिल्लाको विकाससँग प्रत्यक्ष जोडिएका मुद्दा हुन्। यस्तै जिल्लाका मात्रै होइनन्, देशका दीर्घकालीन समस्या समाधानका लागि बहुआयामिक विषय —बाँदर आतंक नियन्त्रणदेखि स्थानीय रक्सी र गाँजा खेतीको वैधानिकताको विषय र नेपालमा सुर्तीजन्य पदार्थ प्रतिबन्धको विषय उठाउने अपेक्षा गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार खोटाङबाट निर्वाचित प्रतिनिधिले केवल स्थानीय समस्या मात्र होइन, राष्ट्रिय स्तरमा पनि नीति निर्माणमा प्रभाव पार्ने भूमिका खेल्नुपर्ने हुन्छ। खोटाङमा उद्योग स्थापना, कृषि आधुनिकीकरण, डिजिटल पूर्वाधार विस्तार, सुरक्षित खानेपानी र रोजगारी सिर्जनाजस्ता योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सके पाँच वर्षभित्रै जिल्लाको आर्थिक र सामाजिक अवस्थामा उल्लेख्य परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरिएको छ। त्यसैले अब मतदाताको अपेक्षा स्पष्ट छ—आर्यन राईले संसद्मा खोटाङको आवाज मात्र होइन, देशको विकास, रोजगारी र सुशासनसँग जोडिएका मुद्दालाई पनि सशक्त रूपमा उठाउन सक्नुपर्छ। भाषणभन्दा काममार्फत परिवर्तन देखाउने नेतृत्व नै अहिले खोटाङवासीको मुख्य अपेक्षा बनेको छ।




