काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको १८ वर्षे संसदीय यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश कुमार सिंहले ब्रेक लगाएका छन्।
आइतबार बिहान सार्वजनिक सर्लाही–४ को अन्तिम मतपरिणामअनुसार अमरेशले १२ हजार ८५७ मतान्तरले गगनलाई पराजित गरेका हुन्। अमरेशले ३५ हजार ६८८ मत प्राप्त गर्दा गगनले २२ हजार ८३१ मत पाए।
गगन २०६४ सालदेखि संसदीय राजनीतिमा सक्रिय थिए। पहिलोपटक समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका उनले त्यसपछि लगातार तीनपटक काठमाडौं–४ बाट निर्वाचन जितेका थिए।
गत पुसमा सम्पन्न कांग्रेसको दोस्रो महाधिवेशनबाट उनी पार्टी सभापतिमा निर्वाचित भएका थिए। कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारेको थियो।
गगनको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य निर्वाचित भएका उनी २०५५ सालमा सोही क्याम्पसको स्ववियु सभापति बने। त्यसपछि २०५७ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष र २०५९ सालमा महामन्त्री बने।
कांग्रेसले आधिकारिक रूपमा स्वीकार गर्नुअघि नै गणतन्त्रको पक्षमा खुलेर वकालत गरेका थापा २०५९ असोजपछि राजकाज मुद्दामा समेत परेका थिए। २०६२–०६३ को जनआन्दोलनमा गणतन्त्रको पक्षमा खेलेको भूमिकाले उनी राष्ट्रिय राजनीतिमा चर्चित बने।
पार्टीको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थापा १३औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए। तर १४औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका थिए। २०७० सालमा उनी स्वास्थ्य मन्त्रीसमेत बनेका थिए।
यता अमरेश कुमार सिंह नेपालका चर्चित राजनीतिज्ञमध्ये एक हुन्। उनको जन्म सन् १९७० सेप्टेम्बर ५ मा सर्लाहीको बलरा क्षेत्रमा भएको हो। उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पीएचडी गरेका छन्।
सुरुमा मधेशकेन्द्रित आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका अमरेशले मधेशी जनअधिकार फोरममार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। पछि नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा लागे। २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट सांसद निर्वाचित भएका उनी २०७९ सालको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर फेरि निर्वाचित भएका थिए।
संसदमा कडा अभिव्यक्ति र असामान्य शैलीका कारण चर्चित बनेका अमरेश पछिल्लोपटक रास्वपाबाट उम्मेदवार बनेका थिए। यसपटक उनले कांग्रेस सभापति गगन थापालाई पराजित गर्दै पुनः प्रतिनिधिसभामा स्थान बनाएका छन्।




