देश

मोरङमा रास्वपाको क्लिनस्वीप, सबै ६ क्षेत्र जित्दै ठूला नेतालाई पराजित

विराटनगर । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामले मोरङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिनस्वीप’ गरेको छ। मोरङका सबै ६ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका हुन्।

मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपानेले २७ हजार ३६७ मत प्राप्त गरी विजय हासिल गरे। उनले नेपाली कांग्रेसका खड्गबहादुर फागोलाई १५ हजारभन्दा बढी मतान्तरले पराजित गरे। फागोले ११ हजार ९८६ मत प्राप्त गरे। श्रम संस्कृति पार्टीका शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गर्दा नेकपा (एमाले) का घनश्याम खतिवडाले ९ हजार ८२३ मत पाए।

मोरङ–२ मा रास्वपाका कृष्णकुमार कार्कीले ४० हजार १२४ मत प्राप्त गर्दै नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजाललाई पराजित गरे। रिजालले १२ हजार ६४४ मत मात्रै प्राप्त गर्न सके। कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी रहेका रिजाल यसअघि उक्त क्षेत्रमा उम्मेदवार थिएनन्। अघिल्लो निर्वाचनमा भने सो क्षेत्र एमालेले जितेको थियो।

मोरङ–३ मा रास्वपाका गणेश कार्कीले ३६ हजार ९२४ मत ल्याएर नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई पराजित गरे। यसअघिका सांसद तथा लोकप्रिय नेताका रूपमा चिनिने मेडिकल डाक्टर शर्माले २४ हजार ३५४ मत प्राप्त गरे।

मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी कांग्रेसका गुरुराज घिमिरेलाई पराजित गरे। घिमिरेले १२ हजार २८८ मत प्राप्त गरेका थिए। पार्टीका प्रभावशाली नेताका रूपमा चिनिने घिमिरेको हारले कांग्रेसको आधारभूत जनमतमा रास्वपाले ठूलो धक्का दिएको देखिन्छ। घिमिरे कांग्रेसका महामन्त्री हुन् र पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।

मोरङ–५ मा रास्वपाकी आशा झाले ३० हजार ४३४ मतसहित विजय हासिल गरिन्। उनले नेपाली कांग्रेसका फुलकुमार लालवानीलाई १६ हजार मतान्तरले पछि पारिन्। लालवानीले १४ हजार ४५७ मत प्राप्त गरे। यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत, नेपाली कम्युनिस्ट पार्टीका शिवकुमार मण्डलले ८ हजार ६४४ मत र नेकपा (एमाले) का मनोजकुमार अग्रवालले १ हजार ५४४ मत प्राप्त गरेका थिए।

मोरङ–६ मा रास्वपाकी रुबिना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पराजित गरिन्। कोइरालाले १२ हजार २५० मत मात्रै प्राप्त गरे, जुन आचार्यको भन्दा ४० हजारभन्दा बढी कम हो। अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका कोइराला कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासीसमेत थिए।

अघिल्लो निर्वाचनमा मोरङका ६ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ४ सिट जितेर वर्चस्व कायम राखेको थियो भने बाँकी दुई सिटमध्ये एकमा एमाले र एकमा माओवादी केन्द्र विजयी भएका थिए। तर यसपटक भने कुनै पनि दलले एउटा पनि सिट जित्न सकेनन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *