देश

म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनको अग्रता कायमै

म्याग्दी (बेनी)। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा महावीर पुनको अग्रता कायमै छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले गणना हुन बाँकी मत भन्दा बढी मत अन्तरले अग्रता लिनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको बेनीस्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयमा मतगणना जारी छ ।

मतगणनामा जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले १८ हजार ८४७ मत सहित अग्रता कायम गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको धवलागिरि, मालिका, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको मतगणना सकिँदा पुनले उहाँका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले भन्दा ११ हजार ९९५ बढी मत ल्याउनुभएको छ । अब म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको ६ हजार ५५८ मत मात्र गणना गर्न बाँकी छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र सहित १२ जना चुनावि प्रतिस्पर्धामा हुनुहुन्थ्यो भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *