देश

गतिशील लोकतान्त्रिक पार्टीबाट केन्द्रीय सदस्य बस्नेतको राजीनामा

काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले पार्टीबाट अलग हुने निर्णय गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै अब स्वतन्त्र नागरिकका रूपमा सामाजिक सेवामार्फत देशसेवामा समर्पित रहने बताएका छन्।

बस्नेतले सार्वजनिक सन्देशमा लेखेका छन् कि अब आफू कुनै दलसँग आबद्ध नभई जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत मातृभूमिको सेवा गर्ने बाटो रोजेको बताएका छन्। जेनजी आन्दोलनपछि स्थापित गतिशील लोकतान्त्रिक पार्टीमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए। बस्नेतका अनुसार जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्धको जनआक्रोशको अभिव्यक्ति थियो। सोही आन्दोलनबाट प्रेरित हुँदै उनले दिगो रोजगारी, सुशासन र समतामूलक विकासको लक्ष्यसहित नयाँ राजनीतिक अभियानमा सहभागी भएको बताएका छन्।

तर पछिल्लो समयको राजनीतिक अभ्यास र संस्कार आफ्नो सोचसँग मेल नखाएको उनले उल्लेख गरेका छन्। उनले पद र दलको सीमाभित्र रहेर आफूले देशका लागि गर्न चाहेको योगदान पूरा गर्न नसक्ने महसुस गरेपछि पार्टी छोड्ने निर्णय गरेको बताएका छन्। बस्नेतले आगामी दिनमा आफ्नो समय, ऊर्जा र अनुभवलाई समाजका समस्या पहिचान, विश्लेषण, छलफल तथा समाधान खोज्ने काममा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार फरक बाटो रोजे पनि देशप्रतिको समर्पण भने यथावत रहनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *