देश

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं।डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गरेकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गरे भन्ने ठ्याक्कै सम्झना छैन ।

एउटै कुराको सम्झना भने उहाँलाई स्पष्ट छ, विगतका चुनावमा मत दिएका धेरै नेताहरू जितेर गए, तर अधिकांशले जनतासँग गरेका वाचा पूरा गर्न सकेनन् । कतिपय त फर्केर पनि आएनन् । ‘अब त हामी डाँडापारिको घाम जस्तै भइसक्यौँ,’ उनले भनिन्, ‘हामीले दुःख पाए पनि हाम्रो नातिनातिना र छोराछोरीले दुःख नपाऊन् भन्ने चाहना छ ।’

उनकी नातिनी विदेशमा छिन्। रेग्मीलाई लाग्छ देशमै रोजगारीको राम्रो वातावरण भइदिए युवापुस्ता विदेश जान बाध्य हुने थिएनन् । ‘देशमै काम पाइयो भने किन विदेश बस्नुपथ्र्यो र ?’ उनी प्रश्न गर्छिन्।

डिल्लीबजारकै अर्का मतदाता गोकुल धितालले भने विगतलाई पूर्ण रूपमा निराशाजनक रुपमा लिएका छैनन्। उनी देशमा केही काम भएको मान्छन्, तर जनताको अपेक्षाअनुसार पर्याप्त भने हुन सकेको छैन ।

‘धेरै पटक मतदान गरियो । विगतमा केही पनि भएन भन्न मिल्दैन,’ उनी भने्, ‘तर हाम्रो अपेक्षा जति छ, त्यति काम भएन ।’ उनको विचारमा अहिलेको प्रमुख आवश्यकता सुशासन र रोजगारी हो ।

नयाँ पुस्ता, विशेषगरी ‘जेन-जी’ को अपेक्षा सम्बोधन गर्नुपर्नेमा उनको जोड रहेको छ । ‘युवाको विश्वास जित्न सके मात्रै देशको भविष्य बलियो हुन्छ,’ उनले भने। आज जेन-जी आन्दोलनपछि विशेष परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *