विश्व

रूसमा युद्धविरुद्ध महिलाको मौन प्रतिरोध

रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षपछि पनि देशभित्र युद्धविरुद्ध असन्तुष्टि पूर्ण रूपमा हराएको छैन, तर कडा सरकारी दमनका कारण धेरै आवाजहरू मौन बनेका छन् । आफ्नो नाम परिवर्तन गरेर ‘वरवारा’ राख्न अनुरोध गर्नुभएकी मस्कोकी ३२ वर्षीया एक महिलाले अहिले खुलेर विरोध गर्न नसके पनि युद्धप्रति असहमति बोकेर चुपचाप बाँचिरहेको अनुभव सुनाउनुभयो ।

फेब्रुअरी २४, २०२२ मा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि ठूलो सैन्य आक्रमण सुरु गर्दा उहाँले ‘निराशा र क्रोध’ महसुस गर्नुभएको थियो । त्यसबेला उहाँ मस्कोको केन्द्रमा आयोजित युद्धविरोधी प्रदर्शनमा सहभागी हुनुभएको थियो । तर चार वर्षपछि अवस्था पूर्ण रूपमा बदलिएको छ । अहिले उहाँले आफू केवल ‘बाँच्ने प्रयास’ गरिरहेको र सार्वजनिक रूपमा युद्ध वा क्रेमलिनको आलोचना गर्ने साहस नगर्ने बताउनुभयो ।

उहाँका अनुसार रूसभित्र अहिले तलबाट उठ्ने कुनै पनि प्रकारको विरोध तुरुन्तै दबाइने वातावरण बनेको छ । “तलबाट आउने कुनै पनि प्रतिरोधलाई दमन गरिनेछ”, उहाँले मस्कोमा एएफपीसँगको अन्तर्वार्तामा भन्नुभयो ।

युद्ध सुरु भएपछि रूसले सोभियत सङ्घको समयपछि नदेखिएको स्तरमा घरेलु दमन कडा बनाएको छ । आक्रमणको विरोधमा बोलेका हजारौँ मानिसलाई जरिवाना वा जेल सजाय दिइएको छ । सार्वजनिक रूपमा क्रेमलिनविरुद्ध प्रदर्शन लगभग बन्द जस्तै भएको छ । प्रमुख विपक्षी नेताहरू जेलमा छन्, निर्वासनमा छन् वा मृत अवस्थामा भेटिएका छन् भने विदेशमा रहेका युद्धविरोधी समूहहरू आन्तरिक मतभेदमा अल्झिएका छन् ।

युद्धको सुरुआतमा वरवारा पनि हजारौँ मानिसझैँ सडकमा उत्रिनुभएको थियो । रूसी दङ्गा प्रहरीले ती प्रदर्शनहरू कडा रूपमा दबाएको थियो । उहाँले त्यतिबेला आफूलाई के हुन सक्छ भन्ने थाहा नभए पनि प्रदर्शनमा सहभागी भएको बताउनुभयो । गिरफ्तारी हुन सक्ने डरले उहाँले घरपरिवारलाई तयारी गराउनुभएको थियो ।

“मलाई गिरफ्तार हुन सक्छ भन्ने थाहा थियो, त्यसैले घरमा चाबीको अर्को सेट छोडेकी थिएँ”, उहाँले स्मरण गर्नुभयो, “म अनुपस्थित हुँदा मेरो बिरालो भोकै नबसोस् भन्ने पनि सोचेकी थिएँ ।”

उहाँ गिरफ्तारीबाट जोगिन सफल हुनुभयो, तर युद्धविरोधी याचिकामा हस्ताक्षर गरेपछि उहाँलाई सरकारी संस्थासँग सम्बन्धित जागिरबाट हटाइएको थियो । त्यसपछि उहाँका धेरै साथीहरू, जसलाई केही समय प्रहरीले हिरासतमा लिएको थियो, देश छोडेर बाहिर गएका थिए ।

तर वरवराले भने रूस छोड्ने निर्णय लिन सक्नुभएन । उहाँका अनुसार बसाइँ सर्ने अनिश्चितता र जोखिमभन्दा देशमै बस्ने विकल्प सजिलो लाग्यो । “मलाई तत्काल शारीरिक खतरा महसुस भएको थिएन । कसैले मेरो ढोकामा ढकढक्याएको थिएन, मलाई जेल हालिएको वा यातना दिइएको थिएन”, उहाँले भन्नुभयो ।

पछि उहाँले एउटा परोपकारी संस्थामा काम पाउनुभयो । त्यहीँ काम गर्दै उहाँले देशभित्रै ‘जहाँ सकिन्छ त्यहाँ केही राम्रो गर्ने’ प्रयास नै अहिले सम्भव भएको एक मात्र मार्ग भएको महसुस गर्नुभयो ।

सन् २०२२ को गर्मीमा उहाँले आफ्नो भावी पतिलाई भेट्नुभयो । दुवैले गिरफ्तारीको जोखिम आए मात्रै देश छोड्ने निर्णय गर्ने सहमति गरेका थिए । अहिले उहाँ आफ्नो पतिको अघिल्लो विवाहबाट जन्मिएका दुई बच्चाको हेरचाह पनि गर्दै हुनुहुन्छ ।

उहाँका अनुसार यही पारिवारिक जिम्मेवारीले आफूलाई चुप रहने निर्णयमा अझ दृढ बनाएको छ । “यदि म एक्लै हुन्थेँ भने सायद आफ्नो नाम लुकाउँदिनथेँ”, उहाँले भन्नुभयो, “तर अहिले म सौतेनी आमा हुँ, जटिल पारिवारिक संरचनाको हिस्सा हुँ र जिम्मेवारी महसुस गर्छु ।”

युद्धले उहाँको निजी जीवनमा पनि गहिरो प्रभाव पारेको छ । लामो समयसम्म उहाँलाई सामान्य खुशी अनुभव गर्न पनि गाह्रो भएको थियो । दुई वर्षपछि मात्र उहाँले एक दिन निस्फिक्री हिँड्दै गर्दा आफू दोषबोधबिना खुसी महसुस गर्न सकेको सम्झनुभयो ।

“एक दिन हामी साथीहरू सँगै हिँडिरहेका थियौँ । मौसम राम्रो थियो, हामी केवल कुरा गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “त्यतिबेला मैले महसुस गरेँ—यो एउटा राम्रो दिन हो, र यसलाई रमाइलो मान्दा म दोषी महसुस गरिरहेकी छैन ।”

उहाँ अहिले आफ्ना सौतेनी सन्तानहरूको हेरचाहलाई एक प्रकारको ‘पलायन’ जस्तै ठान्नुहुन्छ । तर युद्धको छायाँ उहाँको दैनिक जीवनबाट हटेको छैन । परोपकारी कामका क्रममा पनि कससँग सहयोग लिने वा कससँग काम गर्ने भन्ने विषयमा उहाँ सधैँ सजग रहनुपर्ने बताउनुहुन्छ, किनकि धेरै संस्था र व्यक्तिहरू कुनै न कुनै रूपमा सैन्य अभियानसँग जोडिएका हुन सक्छन् ।

उहाँको पारिवारिक सम्बन्ध पनि युद्धले जटिल बनाएको छ । उहाँका पिता रूसको सुरक्षा सेवामा कार्यरत हुनुहुन्छ र युक्रेनमा लड्न जानुभएको थियो । उहाँले छोरीलाई आर्थिक सहयोग पनि पठाउने गर्नुहुन्छ ।

तर वरवराले त्यो सहयोग स्वीकार गर्न अस्वीकार गर्नुभएको छ । “उहाँ मेरा पिता हुनुहुन्छ, म उहाँलाई माया गर्छु”, उहाँले भन्नुभयो, “तर मेरो लागि त्यो पैसा स्वीकार गर्न सम्भव छैन ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *