काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा बिहीबार एक प्रेरणादायी दृश्य देखियो। शोकको समयमा पनि एकैघरका दुई मतदाता आफ्नो नागरिक कर्तव्य पूरा गर्न मतदानस्थल पुगेका छन्। अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालय मतदानस्थलमा चन्द्रकान्त अर्याल र उनकी श्रीमती सुमित्रा पोख्रेल अर्यालले मतदान गरेका हुन्। दम्पतीको परिवारमा हालै बाबुको किरिया बसेको भए पनि उनीहरूले लोकतान्त्रिक अधिकार प्रयोग नगरीकन बस्न चाहेन्।
मतदानपछि चन्द्रकान्तले भने, “मतदान हाम्रो अधिकार मात्र होइन, कर्तव्य पनि हो। त्यसैले यस्तो बेलामा पनि जिम्मेवारी पूरा गर्न आयौं।” उनको यस कदमले उपस्थित अन्य मतदातामाझ सम्मान र प्रेरणाको संदेश दिएको छ। शोक र व्यक्तिगत पीडाका बीच पनि नागरिक जिम्मेवारी निभाउने उदाहरण दम्पतीले प्रस्तुत गरेका छन्।




