देश

दुई ठाउँका दुई समस्या : दाङ र ओखलढुङ्गामा स्थानीयले गरे मतदान बहिष्कार

काठमाडौं । दाङ र ओखलढुङ्गाका विभिन्न स्थानमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। विशेषगरी राष्ट्रिय निकुञ्ज प्रभावित र स्वास्थ्य सेवामा पहुँच नपाएका नागरिकले आफ्ना माग पूरा नगरेसम्म मतदानमा सहभागी नहुने अडान लिएका छन्।

दाङको बबई गाउँपालिका–७ स्थित देउती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र अहिलेसम्म सुनसान छ। यहाँ ६८२ मतदाता रहेका छन्, तर समाचार तयार पार्दासम्म एक जनाले पनि मत खसाल्नुभएको छैन। सोही गाउँपालिकाको वडा नम्बर १ मा रहेको मतदान केन्द्रमा पनि ५३० मतदातामध्ये अहिलेसम्म मत खसेको छैन।

त्यस्तै, ओखलढुङ्गाको मानेभञ्ज्याङ–७ का स्थानीयले प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको विरोध स्वरूप मतदान बहिष्कार गरेका छन्। मानेभञ्ज्याङ–७ स्थित शहीद स्मृति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा ७०१ मतदाता भए पनि अहिलेसम्म कोही पनि मतदान गर्न आएका छैनन्, प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीले जानकारी दिए।

स्थानीय वडाअध्यक्ष विष्णु प्रसाद गौतमका अनुसार, वडा नम्बर ७ मा ८ वर्षअघि प्रादेशिक अस्पताल बनाउने तयारी सुरु भएको थियो। डीपीआर तयार भइसकेपछि प्रक्रिया अगाडि बढ्दा पनि अस्पताल निर्माण सम्पन्न भएको छैन। उनले भने, “अस्पताल निर्माणका लागि १६६ रोपनी जग्गा उपलब्ध गराइएको छ, तर अझै कार्य अघि बढेको छैन।”

स्थानीयहरूले अस्पताल निर्माणको माग पूरा नभएसम्म मतदानमा सहभागिता नजनाउने बताएका छन्। यसैबीच, मतदानको क्रममा निर्वाचन विथोल्न खोज्ने एक प्रदर्शनकारीमाथि नेपाली सेनाले घुँडामुनी गोली प्रहार गरेको घटनासमेत रिपोर्ट गरिएको छ। यो घटनाले निर्वाचन क्षेत्रमा स्वास्थ्य र स्थानीय विकाससँग जोडिएका विषयमा नागरिक असन्तुष्टिको संकेत गरेको देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *