काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह सवार हेलिकोप्टर झापातर्फ प्रस्थान गरेको केही समयमै पुनः काठमाडौं फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब पाँच मिनेटपछि हेलिकोप्टर पुनः अवतरण गरिएको हो।
बालेन्द्र साहले बिहीबार बिहान काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए। उनी काठमाडौं–२ का मतदाता हुन्। मतदानपछि उनी आफू उम्मेदवार रहेको झापा–५ निर्वाचन क्षेत्रतर्फ जान हेलिकोप्टरमार्फत प्रस्थान गरेका थिए।
तर उडान सुरु भएको केही समयमै हेलिकोप्टर काठमाडौंमै फर्किएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राप्त जानकारीअनुसार हेलिकोप्टर बिहान १०ः१० बजे पुनः त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हेलिकोप्टर प्राविधिक समस्या वा कुनै आधिकारिक निर्देशनका कारण नभई स्वेच्छाले फर्किएको बताए। उनका अनुसार चाहेको खण्डमा पुनः उडान भर्न कुनै रोकावट नरहेको छ।
यसैबीच निर्वाचनको दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू भने हेलिकोप्टरमार्फत आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन्। कांग्रेस सभापति गगन थापा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि हेलिकोप्टरबाटै आफ्नो निर्वाचन क्षेत्रतर्फ प्रस्थान गरेका छन्।




