काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने जनाएको छ। आयोगले यस अवधिलाई मतदाताले स्वतन्त्र र निष्पक्ष रूपमा आफ्नो निर्णय गर्ने महत्वपूर्ण समयका रूपमा व्याख्या गरेको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा राजनीतिक दल र उम्मेदवारको प्रभावबाट मुक्त भई मतदाताले आफ्नो अन्तरआत्माको आवाज सुन्ने अवसर पाउने बताए। उनका अनुसार स्वच्छ र मर्यादित प्रतिस्पर्धालाई प्रवर्द्धन गर्न मतदानअघिको निश्चित समय प्रचारप्रसार निषेध गर्ने प्रचलन विश्वव्यापी रूपमा अपनाइँदै आएको छ।
आयोगले ४ फागुनदेखि १८ फागुनसम्म प्रचारप्रसार अवधि तोकेको थियो। अब सुरु हुने मौन अवधिमा कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया तथा प्रचारात्मक गतिविधि गर्न पाइने छैन। सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष–विपक्षमा सामग्री प्रकाशन गरे कारबाही हुने आयोगले चेतावनी दिएको छ।
मतदान हुने दिनको ४८ घण्टाअघि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित दललाई निर्देशन दिइएको छ। साथै, सामाजिक सञ्जालमार्फत राखिएका विज्ञापन तथा प्रचार सामग्रीसमेत हटाउनुपर्ने आयोगको भनाइ छ।
यसैबीच आयोगले २१ फागुनमा हुने निर्वाचनका लागि आवश्यक व्यवस्थापन र कर्मचारी खटनपटन पूरा भइसकेको जनाएको छ। मतदान अधिकृतहरू आ–आफ्नो केन्द्रमा पुगिसकेका छन् भने आवश्यक सामग्रीसमेत पुर्याइसकिएको जानकारी दिइएको छ।
आयोगले निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले नगद वा जिन्सी वितरण गर्न नहुने स्पष्ट पारेको छ। मतदातालाई मतदान गर्न वा नगर्न दबाब दिनु, उपहार वा इनाम वितरण गर्नु, सार्वजनिक भोज आयोजना गर्नु जस्ता गतिविधि गैरकानुनी हुने जनाइएको छ। यस्तो कार्यमा संलग्न भएमा एक वर्षसम्म कैद, ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी आयोगले दिएको छ।




