विश्व

साउदीको प्रमुख ‘रास तनुरा’ तेल रिफाइनरीमा इरानी आक्रमण, मध्यपूर्व युद्ध थप चर्कियो

काठमाडौं । इजरायल–संयुक्त राज्य अमेरिका र इरानबीच जारी युद्ध तेस्रो दिनमा प्रवेश गर्दै गर्दा मध्यपूर्वको तनाव थप गहिरिएको छ। यसबीच इरानले साउदी अरबस्थित विश्वकै ठूला तेल प्रशोधन केन्द्रमध्ये एक ‘रास तनुरा’ रिफाइनरीमा आक्रमण गरेको जनाइएको छ।

उक्त रिफाइनरी दैनिक करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल प्रशोधन क्षमतासहित विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण केन्द्र मानिन्छ। आक्रमणपछि उत्पादन र निर्यात प्रक्रिया अस्थायी रूपमा अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। रास तनुरा विश्वकै प्रमुख अपतटीय तेल लोडिङ टर्मिनलमध्ये एक हो, जहाँबाट अमेरिका, एसिया र युरोपका देशहरूमा ठूलो मात्रामा कच्चा तेल निर्यात हुँदै आएको छ।

युद्धको तेस्रो दिन इरानले इजरायलबाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा समेत आक्रमण विस्तार गरेको दाबी गरिएको छ। यसैबीच लेबनानस्थित शक्तिशाली समूह हिजबुल्लाह पनि द्वन्द्वमा सहभागी भएको जनाइएको छ। इरानसमर्थित हिजबुल्लाहले इजरायलका विभिन्न स्थानमा बमबारी गरेको बताइएको छ।

उता, इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनामा आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रारम्भिक विवरणअनुसार सयौँ स्थानमा बमबारी हुँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु र सयौँ घाइते भएको दाबी गरिएको छ। एक विद्यालयमा मिसाइल प्रहार हुँदा ठूलो मानवीय क्षति भएको समाचारसमेत सार्वजनिक भएका छन्, यद्यपि स्वतन्त्र पुष्टि हुन बाँकी छ।

इरानका वरिष्ठ अधिकारी अली लारीजानीले अमेरिका–इरानबीच वार्ता पुनः सुरु हुने खबरको खण्डन गर्दै हाल कुनै संवादको सम्भावना नरहेको बताएका छन्। क्षेत्रीय शक्तिहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न बन्दै जाँदा मध्यपूर्वको द्वन्द्व अझै फैलिने जोखिम बढेको विश्लेषण गरिएको छ। ऊर्जा आपूर्ति, क्षेत्रीय स्थिरता र मानवीय संकटका दृष्टिले यो युद्धले विश्वव्यापी असर पार्ने संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *