काठमाडौं । हिमाली जिल्ला डोल्पाको उत्तरी भेग अर्थात् माथिल्लो डोल्पामा चुनावी प्रचारप्रसारका क्रममा दुई वाम दलका कार्यकर्ताबीच केहीबेर तनाव उत्पन्न भएको छ।
प्रहरीका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यकर्ता प्रचार अभियानका क्रममा बाटोमै आमनेसामने भएपछि विवाद चर्किएको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले घटनाबारे थप जानकारी लिन प्रहरी टोली खटाइएको बताए।
घटनाबारे एमाले पक्षले दिएकाअनुसार सोमबार दिउँसो करिब २ बजेतिर उनीहरूको प्रचार टोली स्थानीय नेतासँग छलफलमा रहेका बेला अर्को पक्षका कार्यकर्ता भेला भई ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। यद्यपि उक्त दाबीबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
साल्दाङस्थित सुरक्षा निकायले प्रारम्भिक झडपपछि केही समय तनाव रहे पनि हाल अवस्था सामान्य रहेको जानकारी दिएको छ। सुरक्षाकर्मी परिचालन गरी दुवै पक्षलाई अलग गरिएको र थप अप्रिय घटना हुन नदिन निगरानी बढाइएको जनाइएको छ।
झडपपछि एमालेका नेता तथा कार्यकर्ता राप गाउँ हुँदै डोल्पो बुद्ध गाउँपालिकाको धो उपत्यकातर्फ फर्किएको सुरक्षा स्रोतले जनाएको छ। घटनापछि क्षेत्रमा सतर्कता अपनाइएको छ।




