देश

मङ्गलबार ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण : नेपालबाट करिब एक घण्टा अवलोकन गर्न सकिने

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका अवसरमा मङ्गलबार बेलुकी ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ। उदय हुँदै गर्दा चन्द्रमाको करिब आधा भाग ग्रहणले ढाक्ने भएकाले यसलाई ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण भनिएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्नेछ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जनाएअनुसार स्पर्श हुँदा खग्रास अवस्था रहे पनि नेपालमा चन्द्रोदयपछि खण्डग्रास रूपमा मात्र देखिनेछ। बेलुकी ६ बजेर ३ मिनेटमा चन्द्रोदयसँगै ग्रहण सुरु भई ७ बजेर २ मिनेटमा समाप्त हुनेछ। नेपालबाट करिब एक घण्टा यो ग्रहण अवलोकन गर्न सकिने बताइएको छ।

चन्द्रग्रहण तब लाग्छ जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्छ र पृथ्वीको छायाँ चन्द्रमामा पर्दछ। पूर्ण रूपमा चन्द्रमा ढाकिएमा खग्रास र आंशिक रूपमा ढाकिएमा खण्डग्रास भनिन्छ। यो वर्ष नेपालबाट देखिने दोस्रो ग्रहण हो। यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण देखिएको थियो। चन्द्रग्रहण पूर्णिमामा मात्र सम्भव हुन्छ भने सूर्यग्रहण औँसी तिथिमा लाग्छ।

धार्मिक मान्यताअनुसार ग्रहणका बेला जप, ध्यान, स्नान र पाठपूजालाई फलदायी मानिन्छ। तीर्थस्थलमा वा नजिकको नदी, ताल वा पोखरीमा स्नान गर्नु उत्तम मानिए पनि सम्भव नभए घरमै स्नान गर्न सकिने शास्त्रीय ग्रन्थहरूमा उल्लेख छ। सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (९ घण्टा) अघिदेखि सुतक लाग्ने धार्मिक विश्वास छ। सुतक अवधिमा भोजन निषेध गरिएको मान्यता रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

मङ्गलबार बिहान ९ बजेर ३ मिनेटपछि बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अन्यले भोजन नगर्न शास्त्रीय निर्देश रहेको बताइएको छ।

खगोलविद्हरूका अनुसार विश्वमा सन् २०२६ मा चार वटा ग्रहण लाग्ने भए पनि नेपालबाट यो खण्डग्रास चन्द्रग्रहण मात्र प्रत्यक्ष रूपमा देखिनेछ। मौसम अनुकूल भएमा देशका अधिकांश भागबाट नांगो आँखाले नै अवलोकन गर्न सकिने बताइएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार ग्रहण अवलोकनका लागि विशेष उपकरण आवश्यक पर्दैन। घरको छत, खुला चौर वा उच्च स्थानबाट स्पष्ट रूपमा हेर्न सकिनेछ।

पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा चन्द्रमा पनि पृथ्वीको परिक्रमा गर्छ। जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्छ, पृथ्वीको छायाँ चन्द्रमामा पर्दा ग्रहणको अवस्था उत्पन्न हुन्छ। चन्द्रमाको कक्षीय झुकावका कारण सबै पूर्णिमामा ग्रहण नलाग्ने खगोलविद्हरू बताउँछन्। प्राचीन ज्योतिष शास्त्रमा उल्लेख गरिएका राहु र केतुलाई यही कक्षीय काटबिन्दुसँग जोडेर व्याख्या गरिने परम्परा रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *