देश

राजपुरमा बेवारिसे शंकास्पद सामग्री भेटिएपछि उच्च सतर्कता

काठमाडौं । राजपुर नगरपालिका–३ स्थित ग्रामीण सडक किनारमा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकायले सतर्कता बढाएको छ। स्थानीयवासीले सडकछेउ बेवारिसे अवस्थामा राखिएको सामग्री देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्रलाई नियन्त्रणमा लिएको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गौर–पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ।

सेनाका अनुसार टोलीले उक्त सामग्रीको प्रकृति पहिचान गर्ने, जोखिम मूल्याङ्कन गर्ने तथा आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा निष्क्रिय पार्ने तयारी गरिरहेको छ।

यसैबीच घटनास्थल वरपर सर्वसाधारणको आवतजावत पूर्ण रूपमा रोकिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सुरक्षा घेरा कडा पारिएको जानकारी दिँदै अनावश्यक भीड नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *