काठमाडौं । वसन्त ऋतुको आगमनसँगै हिमाली तथा पहाडी जिल्लामा फागुपूर्णिमा ९होली० उत्सव उल्लासपूर्ण वातावरणमा मनाइँदैछ। परम्पराअनुसार फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकताको सन्देश बोकेको चाडका रूपमा परिचित छ।
पछिल्ला वर्षहरूमा राजधानी उपत्यकासहित विभिन्न सहरमा फागु मनाउने शैलीमा परिवर्तन देखिएको छ। विगतमा देखिने उत्ताउलो व्यवहार र जबर्जस्ती रङ दल्ने प्रवृत्ति घट्दै गएको स्थानीयवासी बताउँछन्। प्रहरीको निगरानी र जनचेतनाका कारण सडकमा हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने घटना लगभग रोकिएको छ। भक्तपुरको सूर्यविनायकबाट पुतलीसडक कामका लागि आउने रमा केसीका अनुसार यस वर्ष फागुको अघिल्लो दिनसमेत सहज रूपमा आवतजावत गर्न सकिने वातावरण बनेको छ।
उपत्यकामा फागुको औपचारिक सुरुआत फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरस्थित गद्दी बैठकअगाडि चिर गाडेर गरिन्छ। पूर्णिमाका दिन सो चिरलाई विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगी दहन गर्ने परम्परा छ। चिरमा राखिएका ध्वजापताका औषधीय गुणका लागि उपयोगी हुने जनविश्वास छ भने खरानीको टीका लगाउँदा अनिष्ट टर्ने मान्यता पनि रहिआएको छ।
धार्मिक ग्रन्थअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त पुत्र प्रह्लादलाई मार्न बहिनी होलिकालाई आगोमा पठाउँदा होलिका स्वयं दग्ध भई प्रह्लाद बच्न सफल भएको कथासँग यो पर्व जोडिएको छ। शक्तिको दुरुपयोगको अन्त्य र आस्थाको विजयको प्रतीकका रूपमा होली मनाउने परम्परा त्यसैबेलादेखि सुरु भएको विश्वास गरिन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा। तोयराज नेपालका अनुसार द्वापरयुगमा कंशद्वारा पठाइएकी राक्षसनी पुतनाको वधपछि व्रजवासीले उत्सव मनाएको प्रसंग पनि फागुसँग जोडिएको उल्लेख पाइन्छ।
आयुर्वेदिक दृष्टिले पनि फागु पर्वको महत्व रहेको विज्ञहरू बताउँछन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका अनुसार प्राकृतिक रङ तथा अबिरले छालासम्बन्धी केही समस्या कम गर्न सहयोग पुर्याउने विश्वास छ। चिर दहनबाट निस्कने धुवाँले वातावरण शुद्धीकरणमा सघाउने जनविश्वास पनि रहिआएको छ।
फागुका अवसरमा सरकारले हिमाली र पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ। तराई क्षेत्रमा भने परम्पराअनुसार पूर्णिमाको भोलिपल्ट होली मनाइने भएकाले त्यहाँ मंगलबार सार्वजनिक बिदा दिइएको छ।
यसबीच नशालु पदार्थको दुरुपयोग, रासायनिक रङको प्रयोग तथा सवारीसाधनमा लोला हान्ने जस्ता विकृतिहरू पनि क्रमशः न्यून हुँदै गएको सरोकारवालाहरूको भनाइ छ। अहिले अधिकांश स्थानमा प्राकृतिक रङ प्रयोग गरी बाजागाजासहित नाचगान गर्दै समूहमा उत्सव मनाउने चलन बढ्दो छ।
नेपालका थकाली समुदायले स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता आयोजना गर्ने विशिष्ट परम्परा पनि यस पर्वसँग जोडिएको छ। सात दिनसम्म चल्ने फागु अवधिमा आफन्तजनबीच भेटघाट, मीठा परिकार र सांस्कृतिक जमघटले पर्वलाई थप रौनक दिन्छ।
फागु केवल नेपालमै सीमित छैन। भारतसहित विभिन्न देशमा फरक नाम र शैलीमा रंगोत्सव मनाउने गरिन्छ। इटालीमा ‘बेलियाकोनोन्स’, चीनमा ‘च्वेज’ नामले, अमेरिकामा ‘होबो’ नामले, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा, जापान र सुमात्रामा नयाँ अन्नको स्वागत तथा चीनको युनान क्षेत्रमा सांस्कृतिक नाचगानमार्फत यो पर्व मनाइन्छ।
नाम र परम्परा फरक भए पनि रंग, उमंग र आपसी सद्भाव प्रवर्द्धन गर्ने साझा उद्देश्यका साथ विश्वका विभिन्न समाजमा यस किसिमका उत्सवहरू मनाइँदै आएका छन्।




