काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेल विद्यार्थी आन्दोलनबाट खारिएर मूलधारको राजनीतिमा आएका नेता हुन् । गत पुस २८ देखि माघ १ सम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका नेता पौडेल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाडौँ ५ बाट उम्मेदवार रहेका हुन् ।
गत निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका पौडेल यस पटक पनि सफलताको बाटोमा छन् । इमान्दारिता, सरलता र मिजासिला नेता प्रदीपको पक्षमा बढेको माहोलले उनको जित निश्चित जस्तै छ । २०३२ साल चैत गते शुक्ला–८, तनहुँमा जन्मिएका प्रदीप पौडेलको बसोबास हाल काठमाडौँको बानियाँटारमा हो । सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल) बाट आईएससी र स्नातक तथा त्रिविबाट स्नातकोत्तर तह पूरा गरेका उनी नेपालका अन्य धेरै नेताजस्तै विद्यार्थी आन्दोलनबाट खारिएर राजनीतिमा आएका नेता हुन् ।
उनी २०५३ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भएका विद्यार्थी हक अधिकारका मुद्दामा केन्द्रित भए । २०५९ देखि २०६३ सालसम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक रहेका उनले राजद्रोहको मुद्दा पनि खेपे । संविधान लेखनमा भएको ढिलाइविरुद्ध भएको मेची–महाकाली अभियान, महाभूकम्पपछिको उद्धार तथा पुनस्र्थापना अभियान, युवा उद्यमशीलता अभियान, नेपाली कांग्रेसलाई प्रविधिमैत्री बनाउन डिजिटल एप र कोरोना संक्रमितका लागि प्लाज्मा एप बनाउनेमा नेतृत्वदायी भूमिका खेलेको पौडेलको दाबी छ ।
विशेष महाधिवेशनबाट महामन्त्री जितेपछि उनको राजनीतिक कद बढेको छ । १४ औँ महाधिवेशनमा शेरबहादुर देउवाको टिमबाट महामन्त्री लडेका पौडेल गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग पराजित भए । त्यसपश्चात केन्द्रीय सदस्य मनोनयन भएका उनी विशेषको पक्षमा उभिएर गगन थापा र विश्वप्रकाशलाईसाथ दिदा पार्टीको महामन्त्री बनेका हुन् ।
अघिल्लो संसदमा सांसद हुँदा काठमाडौंको फोहोर व्यवस्थापन, खानेपानी र ट्राफिक सुधारलगायत क्षेत्रका आवजा उठाएर उनले आफ्नो जिम्मेवारी बहन गर्दै आए । स्वच्छ छवि भएका नेता पौडेल छोटो समय स्वास्थ्य मन्त्री भए। त्यसबेला पनि भ्रष्टाचार वा कुनै काण्डमा नमुछिएको ‘क्लिन इमेज’ राख्न सकेका नेतामध्ये एक हुन् ।
पौडेल लोकतन्त्र, शान्ति, सुशासन र मानवअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि आबद्ध छन् । एक विद्यालय, एक पुस्तकालय; सार्वजनिक विद्यालय सुधार, हरेक विद्यालय इन्टरनेट एवं ई–लाइब्रेरी अभियानमा लागेर उल्लेख्य संख्यामा गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति र शैक्षिक सामग्री जुटाएको उनी बताउँछन् ।
२०६७ बाट लगातार तेस्रो कार्यकाल केन्द्रीय सदस्य रहेका पौडेल कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेर हारेपनि पार्टीभित्रको सुधार र राजनीतिभित्रको सुाशसनका पक्षमा निरन्तर लागिरहेका नेता हुन् । पार्टीभित्रको सफलतालाई मतदाताबाट अनुमोदन गर्न र जितलाई निरन्तरता दिन काठमाडौं–५ बाट चुनावी मैदानमा आएका पौडेललाई स्थानीय मतदाताले सकारात्मक स्वागत गरेका छन् ।
२०७९ सालको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका पौडेलले एमाले नेता ईश्वर पोखरेललाई झन्डै ५ हजारको मतान्तरले पराजित गरेका थिए । पोखरेलले राप्रपासँग चुनावी तालमेल गर्दा पौडेललाई तत्कालीन माओवादी सहितको गठबन्धनले साथ दिएको थियो ।
यसपटक पौडेल र पोखरेल दुवै एक्लाएक्लै भिड्दै छन् । २०७० सालको निर्वाचनमा तनहुँबाट प्रदेश सभा सदस्यमा ६ मतले पराजित भए पनि राजनीति र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील प्रदीपले मतदातामाझ राम्रो छवि बनाएका छन् । नेपालका युवा नेताहरूमध्येका इमान्दार नेता पौडेललाई आसन्न चुनावमा युवाहरुले राम्रो साथ दिने विश्वास गरिएको छ ।
उनको प्रतिस्पर्धामा एमालेका ईश्वर पोखरेल, रास्वपाका सस्मित पोखरेल, उज्यालो नेपालका श्री गुरुङ, राप्रपाका कमल थापालगायत छन् । रास्वपाका पूर्व उम्मेदवारको बलियो साथ पाएका प्रदीपलाई जित सहज भएको दाबी गरिएको छ ।
अरु उम्मेदवार भन्दा पौडेल वर्तमान राजनीतिक परिस्थिति र जेन-जी आन्दोलनको भावनासमेत समेटेर देश र जनताका पक्षमा काम गर्ने कुशल नेताका रूपमा परिचित छन् ।




