देश

यूएईमा क्षेप्यास्त्र प्रहारपछि तीनको ज्यान गयो, मृतकमध्ये एक नेपाली

काठमाडौं। ईरान ले संयुक्त अरब इमिरेट्स (यूएई) मा गरेको आक्रमणपछि एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको छ। घटनामा एक पाकिस्तानी, एक नेपाली र एक बंगलादेशी नागरिकले ज्यान गुमाएका हुन्।आक्रमण सुरु भएको २४ घण्टाभित्रै उक्त घटना भएको जनाइएको छ। साथै विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको बताइएको छ।

यूएईको रक्षा मन्त्रालयले सशस्त्र बल पूर्ण तयारी अवस्थामा रहेको र नागरिक तथा बासिन्दाको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सबै कदम चालिएको मन्त्रालयको दाबी छ।

यद्यपि, मृतकहरूको मृत्यु कहाँ र कुन परिस्थितिमा भयो भन्ने विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन। यूएईको राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल देशको अवस्था सामान्य छ। अधिकारीहरूले सर्वसाधारणलाई अफवाहमा नलाग्न र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेका छन्। यस घटनाबारे नेपाली दूतावास अबुधाबी ले अनौपचारिक जानकारी प्राप्त भएको जनाएको छ। तर नेपाली नागरिकको मृत्युबारे औपचारिक पुष्टि भने अझै गरिएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *