काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान ले आफ्ना केन्द्रीय संयोजक दुर्गा प्रसाई को अविलम्ब रिहाइ र उचित स्वास्थ्य उपचारको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।मध्यपुर थिमी–६, भक्तपुरस्थित सचिवालयबाट जारी विज्ञप्तिमा प्रसाईलाई पटक–पटक नियन्त्रणमा लिएर हिरासतमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
‘लोकतान्त्रिक अधिकारमाथि प्रहार’
अभियानले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रूपमा विचार राख्ने अधिकारमाथि राज्यले हस्तक्षेप गरेको आरोप लगाएको छ। विज्ञप्तिमा यस्ता कदमलाई लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनविरुद्धको कार्यका रूपमा व्याख्या गरिएको छ।
स्वास्थ्य अवस्थाबारे चिन्ता
विज्ञप्तिअनुसार प्रसाई क्यान्सरबाट पीडित रहेका कारण उनको स्वास्थ्य अवस्था संवेदनशील छ। यस्तो अवस्थामा हिरासतमा राख्नु अमानवीय र मानवअधिकारविरुद्ध भएको दाबी गरिएको छ। अभियानले उनको नियमित उपचार र आवश्यक स्वास्थ्य सेवाको सुनिश्चितता गर्न माग गरेको छ।
तत्काल रिहाइको माग
अभियानले प्रसाईलाई बिना शर्त तुरुन्त रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ। हिरासतका क्रममा स्वास्थ्यमा कुनै क्षति पुगे वा त्यसका कारण अप्रिय अवस्था सिर्जना भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनीसमेत विज्ञप्तिमा उल्लेख छ। अन्याय र दमनविरुद्ध शान्तिपूर्ण आन्दोलन जारी रहने अभियानले स्पष्ट पारेको छ। विज्ञप्तिमा सुशील बरालले प्रमुख स्वकीय सचिवको हैसियतमा हस्ताक्षर गरेका छन्।





