देश

निर्वाचन लक्षित सुरक्षा तयारी पूरा, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेः गृहमन्त्री अर्याल

बाँके । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताएका छन् ।

फागुन २१ गते हुने निर्वाचनका क्रममा आवश्यक सुरक्षा व्यवस्थाकाबारेमा जानकारी लिने उद्देश्यले आज नेपालगञ्ज आइपुगेका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

आज बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट गर्दै ढुक्क भएर मतदान गर्न देशवासीसँग अनुरोध गरे ।

गृहमन्त्री अर्यालले जिल्लास्थित प्रमुखहरुसँगको भेटघाटपछि उनले भने, “बाँके जिल्लाको निर्वाचन सुरक्षाको अवस्था र व्यवस्थासहित रणनीति बुझ्ने क्रममा यहाँ आएको हुँ । सम्बद्ध सुरक्षा प्रमुखहरुबाट समग्र विषयवस्तुका बारेमा जानकारी प्राप्त भयो । सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ, निर्धक्क भएर मतदान गर्न सबैसँग अनुरोध गर्दछु । ”

गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतलगायत निर्वाचनसँग सम्बन्धित सबै निकायको कामकारबाहीसहित आउनसक्ने चुनौतीको पूर्वतयारी सन्तोषजनक रहेको बताए ।

उनले अहिले समग्र देशको सुरक्षा अवस्था सुदृढ भएको र देशव्यापी रुपमा निर्वाचनको माहोल बनेकाले अत्यधिक जनताको सहभागितासहित उल्लासमय वातावरणबीच शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गरे ।

उनले एकफरक प्रसङ्गमा बाँके जिल्लामा कायम रहेको धार्मिक सहिष्णुताको प्रशंसा गर्दै गलत तत्वलाई समयमै पहिचान गरी रोकथाम गर्न यहाँको नेतृत्व सफल भएको बताए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *