देश

मध्यपूर्वमा संयमता र कूटनीतिक समाधान गर्न नेपालको जोड

काठमाडौँ । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको पछिल्लो परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रको अवस्थालाई नेपालले नजिकबाट निगरानी गरिरहेको जनाएको हो ।

मन्त्रालयले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन, तनाव थप नबढाउन तथा सर्वसाधारण नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ । साथै उत्पन्न मतभेदहरू कूटनीतिक पहल र संवादमार्फत समाधान गर्न नेपालले आह्वान गरेको छ ।

नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सबै देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएको छ । नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्दै विश्व शान्ति र सुरक्षाको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने नेपाल सरकारको धारणा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले वर्तमान संवेदनशील अवस्थामा शान्तिपूर्ण समाधान नै आवश्यक रहेको उल्लेख गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *