गण्डकी प्रदेश

सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय गर्न नपाइने

गण्डकी। प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी आगामी सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि राति ९ः०० बजेसम्म मात्र होटल, रेष्टुराँ, दोहारी साँझ, क्लब, डान्स बार, मदिरा पसलगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सार्वजनिक रुपमा सूचित गरेको हो ।

कार्यालयले जारी गरेको सूचनामा चुनावका अवधिमा सार्वजनिक शान्ति सुरक्षा र समाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षबाट सहयोगका लागि अनुरोध गरिएको छ ।

उक्त नियम कार्यान्वयन भए÷नभएकाबारे अनुगमन हुने र कसैले सूचनाको अवज्ञा गरी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ ।

कार्यालयले चुनावको सम्मुखमा परेको फागुपर्व पनि सार्वजनिकस्थलमा भीडभाड हुनेगरी नखेल्न अपिल गरेको छ ।

निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिकस्थलमा भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न कार्यालयले सूचित गरेको हो । फागुपर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको कार्यालयको सूचनामा उल्लेख छ । परिवार मिलेर घरपरिसरमा सभ्य र सुसंस्कृत रुपमा फागुपर्व मनाउन कार्यालयले आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *