देश

निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा

काठमाडौं । निर्वाचन सुरक्षाको समग्र अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्की ले मंगलबार शीर्ष सुरक्षा अधिकारीहरूसँग विस्तृत छलफल गरेकी छन्। साँझ बालुवाटारमा आयोजित बैठकमा सुरक्षा निकायहरूले वर्तमान तयारी, सम्भावित चुनौती र प्रतिकार योजनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

बालुवाटार स्रोतका अनुसार हालसम्म कुनै गम्भीर सुरक्षा चुनौती देखिएको छैन। ब्रिफिङपछि प्रधानमन्त्री कार्कीले समग्र तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै सम्भावित जोखिमप्रति सजग रहन निर्देशन दिएकी थिइन्।

बैठकमा नेपाली सेना ले देशभर २७५ स्थानमा बम निष्क्रियकरण ९डिस्पोजल० टोली परिचालन अवस्थामा राखिएको जानकारी गराएको थियो। आवश्यक परे थप टोली ३० मिनेटभित्र खटाउन सकिने र थप सुदृढीकरण ९० मिनेटभित्र सम्भव हुने व्यवस्था मिलाइएको जनाइएको छ। सेनाले हालसम्म १३ स्थानमा शंकास्पद वस्तु निष्क्रिय पारेको विवरण पनि प्रस्तुत गरेको छ। मतदान सामग्री ढुवानीका लागि स्ट्यान्डबाई हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिइएको थियो।

सुरक्षा निकायहरूले यसपटकको प्रमुख चुनौतीका रूपमा सामाजिक सञ्जालमा फैलिने ‘मिसइन्फरमेशन’ र ‘डिसइन्फरमेशन’ लाई औंल्याएका छन्। मौन अवधिको पूर्वसन्ध्यामा यस्ता अफवाह बढ्न सक्ने भन्दै त्यसको निगरानी र प्रतिवाद रणनीतिबारे छलफल भएको बताइएको छ। सो क्रममा प्रधानमन्त्री कार्कीले आफ्नै राजीनामाबारे गलत समाचार पटक–पटक सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै झुटा सूचनाप्रति थप सतर्कता अपनाउन आग्रह गरिन्।

सुरक्षा संयन्त्रका अनुसार देशभर व्यापक रूपमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। थप आवश्यकता परे तत्काल सुदृढीकरण गर्ने गरी तयारी अवस्थामा बल राखिएको छ। दैनिक समीक्षा र समन्वयका लागि गृह मन्त्रालय मा केन्द्रीय सुरक्षा समितिको बैठक नियमित बस्ने व्यवस्था मिलाइएको छ। प्रत्येक प्रदेशमा एक एआईजी तथा गृह मन्त्रालयबाट एक सहसचिवलाई जिम्मेवारी तोकिएको जानकारी पनि बैठकमा गराइएको थियो।

असामान्य रूपमा धेरै मत खसेका क्षेत्रहरूमा विशेष निगरानी राखिने तथा त्यस्ता स्थानमा यसअघि खटिएका कर्मचारीलाई नदोहो¥याइने नीति लिइएको छ। कर्मचारीबाट कुनै गडबडी भए कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

संभावित झडप रोक्न प्रत्येक उम्मेदवारका एक–एक प्रतिनिधिलाई जिल्ला सुरक्षा समितिसँग प्रत्यक्ष सम्पर्कमा राख्ने, फरक दलका उम्मेदवारहरूबीच अनावश्यक भेटघाट नहोस् भनेर घरदैलो कार्यक्रमको मार्ग व्यवस्थापन गर्ने जस्ता उपायहरू अवलम्बन गरिएको सुरक्षा निकायले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *