काठमाडौं । दुर्गा प्रसाईं १३ पटकसम्म पक्राउ परेपछि अन्ततः अदालतको आदेशमा रिहा भएका छन्। बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनी आज हिरासतबाट बाहिरिएका हुन्।
निर्वाचन आयोगको पत्राचारपछि “चुनाव भाँड्ने गतिविधि” को आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। सरकारको रणनीति चुनावसम्म हिरासतमा राख्ने रहेको चर्चा चलिरहँदा अदालतको आदेशले त्यसलाई उल्ट्याइदियो।
रिहाइपछि कडा अभिव्यक्ति
हिरासतबाट निस्किएलगत्तै प्रसाईंले सञ्चारकर्मी र युट्युबरहरूलाई सम्बोधन गर्दै देश “युक्रेनको बाटोमा गएको” दाबी गरे। उनले चुनाव प्रक्रिया र सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाउँदै नेपाली सेना सडकमा देखिनु अस्वाभाविक भएको टिप्पणी गरे।
आफूले “चुनाव हुँदैन” भन्दा पक्राउ गरिएको तर अब राजाबाट समेत त्यस्तै संकेत आएको दाबी गर्दै उनले खुला चुनौती दिए—राजा सडकमा निस्किए पक्राउ गर्ने साहस कससँग छरु
उनले नामै लिएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायत केही व्यक्तिमाथि प्रश्न उठाए। साथै, राजालाई समेत सडकमा उत्रन “हिम्मत गर्न” आग्रह गरे।
राजनीतिक भेटघाटबारे स्पष्टीकरण
हालै सार्वजनिक भएको तस्बिरबारे उनले स्पष्ट पार्दै आरजु देउवा र पूर्णबहादुर खड्कासँगको भेट दुई–अढाइ वर्षअघिको भएको बताए। स्कुलसम्बन्धी कामका क्रममा भेट हुँदा फोटो खिचिएको दाबी गर्दै उनले “फोटोको कुनै राजनीतिक अर्थ नहुने” जिकिर गरे। उनले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहालसँग पनि फोटो खिचेको उल्लेख गरे।
प्रसाईंले आफ्नो हातमा शक्ति आए पहिलो कारबाही आरजु देउवालाई गर्ने दाबी गर्दै त्यसपछि ओली र अन्य व्यक्तिलाई थुन्ने चेतावनी दिए। सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउने योजना बनाउनेलाई कारबाही गर्ने चेतावनीसमेत उनले दोहोर्याए। उनको अभिव्यक्तिले राजनीतिक वृत्तमा फेरि तरंग ल्याएको छ। अदालतको आदेशपछि रिहा भए पनि प्रसाईंका भनाइले आगामी दिनमा थप विवाद र बहस निम्त्याउने संकेत देखिएको छ।




