काठमाडौं । कास्कीमा भएको कथित जातीय विभेदको घटनालाई लिएर तनाव बढ्ने संकेत देखिएको छ। कलाकार तथा राजनीतिकर्मी महेश गोदारले दोषीमाथि कानुनी कारबाही नभए जिल्ला प्रहरी कार्यालयको गेटमै आत्मदाह गर्ने चेतावनी दिएका छन्।
फागुन ९ गते पोखरा महानगरपालिका–२६ मा रहेको नमस्ते पार्टी प्यालेस मा आयोजित विवाह भोजका क्रममा सन्तबहादुर विश्वकर्मामाथि जातीय आधारमा अपमानजनक व्यवहार भएको आरोप छ। पीडितका अनुसार खाना खान लाइनमा बस्न खोज्दा उनलाई अलग्गै बस्न भनिएको र भान्सा नछुनू भन्ने अभिव्यक्ति दिइएको थियो।
घटनापछि विश्वकर्मा खाना नखाई फर्किएको र मानसिक रूपमा आघात पुगेको बताइएको छ। भोलिपल्ट कार्यक्रम आयोजक काशीराम घिमिरेले घरमै पुगेर माफी मागे पनि पीडितले कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अडान लिएका छन्।
महेश गोदारले भने प्रहरी प्रशासनले उजुरी दर्ता गर्न ढिलाइ गरेको र राजनीतिक दबाबका कारण मुद्दालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले स्पष्ट शब्दमा चेतावनी दिँदै भनेका छन्, “यदि जाहेरी दर्ता गर्न आलटाल गरियो वा दोषीलाई उन्मुक्ति दिन खोजियो भने म जिल्ला प्रहरी कार्यालय कास्कीको गेटमै आत्मदाह गर्नेछु।”
गोदारले प्रगतिशील लोकतान्त्रिक पार्टी का केन्द्रीय समिति सदस्यका रूपमा समाजमा व्याप्त छुवाछूतविरुद्ध अन्तिमसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले जातीय तथा अन्य छुवाछूत र भेदभाव ९कसूर र सजाय० ऐन, २०६८ अनुसार दोषीलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन्। साथै, संविधानले नै जातीय विभेदलाई निषेध गरेको उल्लेख गर्दै प्रशासनलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन्।
घटनालाई लिएर पोखरामा व्यापक चासो देखिएको छ। अब प्रहरी प्रशासनले उजुरी दर्ता गरी छानबिन प्रक्रिया अघि बढाउँछ कि बढाउँदैन भन्ने विषय नै मुख्य प्रतीक्षाको केन्द्र बनेको छ।




