देश

सिंगापुर बैंक खाताको विवरण झिकाउन विशेष अदालतको निर्देशन

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेलसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले महत्वपूर्ण आदेश दिएको छ। अदालतले सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेका पौडेलका खाताको सम्पूर्ण विवरण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो।

अख्तियारले २०८१ वैशाख ९ गते पौडेल र अनिल पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गरेको थियो। सरकारी उपकरण र सफ्टवेयर खरिदका क्रममा घुस लिई उक्त रकम सिंगापुरको बैंक खातामा जम्मा गरेको आरोप उनीमाथि छ। सोही मुद्दाको सुनुवाइका क्रममा अदालतले खातासम्बन्धी प्रमाण नै पेस गर्न आदेश दिएको हो।

नेपाल र सिंगापुरबीच पारस्परिक कानुनी सहायता सम्बन्धी औपचारिक सम्झौता नभए पनि, अख्तियारले घर खानतलासीका क्रममा सिंगापुरस्थित खातासम्बन्धी कागजात फेला पारेको जनाएको छ। यही सन्दर्भमा विशेष अदालतले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सिंगापुरबाट विवरण ल्याउन कानुनी रूपमा सम्भव छ वा छैन भन्नेबारे स्पष्ट जवाफ मागेको छ।

अदालतका अध्यक्ष सुदर्शनदेव भट्टसहित सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले विवरण उपलब्ध हुन सक्ने भए छिटो उपलब्ध गराउन र नसक्ने भए सोही अनुसार जानकारी दिन निर्देशन दिएको छ।

यसैगरी, सिंगापुरको बैंक खातासम्बन्धी विवरण झिकाउन अदालतले नेपाल राष्ट्र बैंकलाई पनि समन्वयको भूमिका निर्वाह गर्न आदेश दिएको छ। सिंगापुरको केन्द्रीय बैंकसँग सहकार्य गरी सम्बन्धित बैंकबाट आवश्यक विवरण मगाउन भनिएको छ।

अख्तियारका अनुसार नेपाल र सिंगापुरमा गरी करिब २४ करोड ९४ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडिएको देखिएको छ। तीमध्ये २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरिएको दाबी अभियोगपत्रमा उल्लेख छ। सरकारी ठेक्कापट्टामा संलग्न स्वदेशी तथा विदेशी कम्पनीहरूसँग मिलेमतो गरी कमिसन लिई विदेशमा रकम जम्मा गरिएको आरोप समेत लगाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *