खेलकुद

उपचारका लागि आवश्यक खर्च जुटिसक्यो, अब मेरो खातामा रकम जम्मा नगरिदिनुहोस् : सावित्रा भण्डारी ‘साम्बा’

काठमाडौं । गम्भीर घुँडाको चोटपछि शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गरेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आवश्यक उपचार खर्च जुटिसकेको जानकारी दिँदै अब थप रकम नपठाइदिन अनुरोध गरेकी छन्। अस्ट्रेलियन ए–लिगमा वेलिंगटन फिनिक्स बाट खेल्दै आएकी साम्बा ब्रिसबेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन्। दायाँ घुँडाको एसीएलमा पहिले गरिएको शल्यक्रियापछि राखिएको ग्राफ्ट र एमसिएलमा पुनः गम्भीर क्षति पुगेपछि पुनः शल्यक्रिया आवश्यक भएको चिकित्सकले बताएका छन्।

उपचारका लागि करिब ८० हजार अमेरिकी डलर आवश्यक पर्ने उल्लेख गर्दै उनले कतारमा शल्यक्रिया गराउने योजना सार्वजनिक गरेकी थिइन्। क्लबको बीमा रकम पर्याप्त नभएपछि उनले सार्वजनिक रूपमा सहयोग अपिल गरेकी थिइन्। प्रारम्भमा सम्बन्धित निकायबाट अपेक्षित सहयोग नपाएको गुनासोसमेत उनले गरेकी थिइन्।

तर अपिल सार्वजनिक भएको छोटो समयमै देश–विदेशबाट उल्लेखनीय आर्थिक सहयोग जुट्यो। साम्बाका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ बराबर रकम संकलन भएको छ। विभिन्न संघ–संस्था र प्रायोजकहरूले समेत सहयोगको प्रतिबद्धता जनाएका छन्। क्लबले पनि बीमा रकम निकासा गरी उपचार प्रक्रियामा सहजीकरण गरिरहेको उनले बताएकी छन्।

“मेरो उपचारका लागि आवश्यक खर्च पुगिसकेको छ। त्यसैले आजबाट दुवै खातामा सहयोग रकम जम्मा नगर्नुहोस्,” उनले सामाजिक सञ्जालमार्फत अनुरोध गरेकी छन्। साम्बाले समर्थकप्रति आभार व्यक्त गर्दै लेखेकी छन्, “खेलाडीका रूपमा मेरो सबैभन्दा ठूलो कमाइ पैसा होइन, तपाईंहरूको माया, भरोसा र समर्थन हो।” “थाकेको छु, हारेकी छैन,” भन्ने आफ्नो अठोट दोहोर्‍याउँदै उनले अझ मजबुत भएर फर्कने र पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

शल्यक्रियाको मिति तय हुने प्रतीक्षामा रहेकी साम्बा उपचार र पुनःस्थापनापछि पुनरागमनका लागि पूर्ण तयारी गर्ने बताउँछिन्। उनका लागि सहयोगदाताप्रति साँचो धन्यवाद भनेको मैदानमा फर्केर देशका लागि खेल्नु नै हुने उनको विश्वास छ।

https://www.facebook.com/SabitraSamba

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *