विश्व

उत्तर कोरियामा किम यो जोङको पदोन्नति

उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीले नेता किम जोङ उनका सबैभन्दा विश्वासपात्र मानिने बहिनी किम यो जोङलाई शीर्ष केन्द्रीय समितिभित्र विभाग निर्देशकको जिम्मेवारीमा पदोन्नति गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यो निर्णयलाई सत्ता संरचनाभित्र उहाँको प्रभाव औपचारिक रूपमा अझ बलियो बनाइएको सङ्केतका रूपमा हेरिएको छ ।

पाँच वर्षमा एकपटक आयोजना हुने पार्टीको शिखर सम्मेलनका लागि हजारौँ प्रतिनिधि प्योङयाङमा भेला भइरहेका बेला गरिएको यो पदोन्नतिले कूटनीति, सुरक्षा र रणनीतिक विषयमा किम परिवारको पकड झन् सुदृढ भएको देखाएको छ । किम यो जोङले यसअघि प्रचार संयन्त्रमा वरिष्ठ भूमिका निर्वाह गर्नुभएको थियो, तर अहिले कुन विभागको नेतृत्व गर्नुभएको हो भन्ने खुलाइएको छैन ।

लामो समयदेखि आफ्ना दाजुका सबैभन्दा नजिकका सहकर्मीका रूपमा चिनिनुभएकी उहाँले आणविक वार्ता र अन्तर्राष्ट्रिय कूटनीतिमा स्पष्ट र कडा अभिव्यक्ति दिँदै आउनुभएको छ । अनुसन्धानकर्ता अहन चान–इलका अनुसार किम जोङले पूर्ण भरोसा गर्न सक्ने सीमित व्यक्तिमध्ये उहाँ एक हुनुहुन्छ । सिङ्गापुर र हनोईमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएका शिखर भेटवार्तामा उहाँ कार्यस्तर अधिकारीका रूपमा सक्रिय रहनुभएको थियो ।

सन् २०१८ मा प्योङचाङ शीतकालीन ओलम्पिकका अवसरमा विशेष दूतका रूपमा सियोल पुग्नुभएपछि उहाँ अन्तर्राष्ट्रिय रूपमा चिनिन थाल्नुभएको हो । कोरियाली युद्धपछि दक्षिण कोरियामा पाइला टेक्ने किम वंशको पहिलो सदस्य बन्नुभएको उहाँले त्यसयता वासिङ्टन र सियोलप्रति कडा टिप्पणी गर्दै आउनुभएको छ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओलको सरकारलाई ‘संयुक्त राज्य अमेरिकाको वफादार कुकुर’ भनी टिप्पणी गर्नुभएको प्रसङ्ग चर्चित बनेको थियो । यद्यपि, दक्षिण कोरियाका वर्तमान नेता ली जे म्युङ सत्तामा आएपछि उहाँको सार्वजनिक भाषा केही नरम देखिएको विश्लेषकहरू बताउँछन् ।

सन् १९८८ मा जन्मिनुभएकी किम यो जोङ पूर्व नेता किम जोङ इल र को योङ हुईका सन्तानमध्ये एक हुनुहुन्छ । स्विट्जरल्यान्डमा शिक्षा हासिल गर्नुभएकी उहाँ सन् २०११ मा आफ्ना पिताको निधनपछि सत्ता संरचनामा द्रुत रूपमा उक्लिनुभएको थियो । उहाँको पारिवारिक जीवनबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन, तर गत वर्ष सार्वजनिक गरिएको दुर्लभ भिडियोमा दुई साना बालबालिकासँग देखिनुभएको थियो ।

पार्टी सम्मेलनलाई किम जोङले आफ्नो नेतृत्व सुदृढ पार्ने अवसरका रूपमा लिइँदै आएको छ । किम वंशअन्तर्गत नवौँ पटक आयोजना गरिएको यस भेलाले भविष्यको उत्तराधिकारबारे पनि चासो बढाएको छ । विशेषगरी किम जोङकी छोरी किम जु एलाई अघि सारिने सम्भावनाबारे चर्चा भइरहेको छ । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले उहाँलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको जनाएको छ ।

यता, डोनाल्ड ट्रम्पले पुनः भेटका लागि आफू ‘शतप्रतिशत’ तयार रहेको बताउनुभएको भए पनि किम जोङले हालसम्म उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने सङ्केत दिनुभएको छैन । पछिल्लो पदोन्नतिसँगै किम यो जोङको भूमिका आन्तरिक शक्ति सन्तुलन र बाह्य कूटनीतिमा झन् निर्णायक बन्ने अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *