देश

साम्बाको उपचारमा जिम्मेवारी लिन सरकारलाई कमल थापाको आग्रह

काठमाडौं । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा ले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा सरकारले अग्रसरता लिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले साम्बाको स्वास्थ्योपचारमा आफ्नो तर्फबाट पनि यथासम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

साम्बाले उपचार खर्च व्यवस्थापनका लागि सार्वजनिक रूपमा आर्थिक सहयोगको अपिल गरेपछि राजनीतिक तथा खेल क्षेत्रबाट समर्थन र प्रतिक्रिया आइरहेका छन्। सोही सन्दर्भमा थापाले सामाजिक सञ्जालमार्फत सरकारलाई जिम्मेवारी बहन गर्न आग्रह गरेका हुन्।

फेसबुकमा लेख्दै थापाले साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन्।

‘नेपाल र दक्षिण एसियाली महिला फुटबल जगतकी सर्वाधिक लोकप्रिय र प्रतिभाशाली खेलाडी साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले वहन गरोस् भनी प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछु,’ थापाले लेखेका छन्।

उनले थप्दै भनेका छन्, ‘सिङ्गो देश तपाईंको साथमा छ, हामी पनि आफ्नो तर्फबाट यथासम्भव सहयोग गर्नेछौँ।’ थापा नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय फुटबल खेलाडीसमेत हुन्।

यसैबीच एन्फाका अर्का पूर्वअध्यक्ष गणेश थापा ले पनि साम्बाको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शीघ्र पुनरागमनको कामना गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै एन्फाले प्रत्यक्ष सहयोग नगरे पनि साम्बालाई उपचारपछि मैदानमा फर्काउन सबैले पहल गर्नुपर्ने धारणा राखेका छन्।

थापाले साम्बालाई व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन्। साम्बाको उपचारका लागि आवश्यक आर्थिक स्रोत जुटाउने विषय अहिले खेल क्षेत्र र सामाजिक सञ्जालमा व्यापक छलफलको विषय बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *