देश

बालेनको अभिव्यक्तिप्रति निर्माण व्यवसायीको आपत्ति, सार्वजनिक माफीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाह को पछिल्लो अभिव्यक्तिप्रति निर्माण व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिबाट निर्माण क्षेत्रको सम्मानमा आँच पुगेको भन्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ।

महासंघले बालेनको भनाइले निर्माण व्यवसायीलाई अपमानित गरेको र पेशागत मर्यादामा चोट पुगेको दाबी गरेको छ। सरकारी विकास आयोजना कार्यान्वयनमा हुने ढिलासुस्तीको मुख्य कारण ऐन–कानुन तथा प्रक्रियागत जटिलता रहेको भन्दै त्यसको दोष व्यवसायीमाथि थोपर्न नहुने महासंघको भनाइ छ।

हालै धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले सडक निर्माणको ढिलासुस्तीप्रति कडा टिप्पणी गरेका थिए। उनले निर्माण कार्य लामो समयसम्म पूरा नहुने अवस्था देखाउँदै ‘रुखमा बाँधेर भए पनि वा खोरमा जाकेर भए पनि बाटो बनाउनुपर्ने’ आशयको अभिव्यक्ति दिएका थिए।

उनको उक्त भनाइ सार्वजनिक भएसँगै निर्माण व्यवसायीहरूले आपत्ति जनाएका हुन्। महासंघले विकास आयोजनामा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरेको छ।

महासंघका प्रतिनिधिहरूले बालेनले आफ्नो अभिव्यक्तिमा स्पष्टता नदिए र माफी नमागे त्यसको अभिलेख राख्ने तथा आवश्यक कदम चाल्ने चेतावनी दिएका छन्। उनीहरूले निर्माण क्षेत्रलाई निरुत्साहित गर्ने किसिमका अभिव्यक्तिले दीर्घकालीन रूपमा विकास प्रक्रियामा असर पार्ने बताएका छन्।

विवादित अभिव्यक्तिपछि राजनीतिक वृत्त र निर्माण क्षेत्रबीच बहस चुलिएको छ। सम्बन्धित पक्षबाट थप प्रतिक्रिया आउने क्रम जारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *