काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा आइतबार भएको घटनापछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सद्भाव खलल पार्ने गतिविधिमाथि कडा कारबाही गर्ने निर्णय गरेको छ।
भोला दाहाल (प्रमुख जिल्ला अधिकारी) को अध्यक्षतामा सम्पन्न बैठकले घटनासम्बन्धी पीडित पक्षबाट जाहेरी लिई आवश्यक कानुनी प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेको हो। दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन धार्मिक अगुवा तथा सरोकारवालाले सहजीकरण गर्ने निर्णय पनि गरिएको छ।
बैठकले व्यक्तिगत प्रकृतिका घटना वा दुर्घटनालाई आधार बनाई धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, सामाजिक सञ्जालमार्फत दुष्प्रचार गर्ने, घृणा फैलाउने अभिव्यक्ति प्रसारण गर्ने व्यक्तिलाई साइबर कानुन तथा प्रचलित ऐनअनुसार कारबाही गर्ने स्पष्ट निर्णय गरेको छ।
यसका साथै आगामी दिनमा सामाजिक–धार्मिक एकता सुदृढ गर्न नागरिक समाज, राजनीतिक दल, सञ्चारमाध्यम, धार्मिक तथा सामाजिक संघसंस्था र जनप्रतिनिधिहरूले आ–आफ्नो तर्फबाट संयमता र सद्भावका लागि सार्वजनिक अपिल जारी गर्ने सहमति जुटेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख नरेन्द्रराज सुवेदी ले घटनाका दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन्। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो।





