काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका एक स्थानीय नेताले आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन्।
विदुर नगरपालिका–४ का वडा सभापति सुमनमान डंगोलले फागुन २१ गते हुने निर्वाचन प्रक्रियामा आफू कुनै पनि भूमिकामा नजाने निर्णय सार्वजनिक गरेका हुन्। सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले वर्तमान राष्ट्रिय राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशलाई दृष्टिगत गर्दै यस्तो निर्णय लिएको उल्लेख गरेका छन्।
डंगोलका अनुसार देश अहिले संवेदनशील मोडमा पुगेको छ। बदलिँदो भूराजनीतिक सन्तुलन, आर्थिक तथा कूटनीतिक दबाब र रणनीतिक प्रतिस्पर्धाको प्रभावले स्पष्ट बहुमतको सम्भावना कमजोर देखिएको उनको तर्क छ। यस्तो अवस्थामा अस्थिर शासन व्यवस्थाले मुलुकलाई थप जटिलतातर्फ धकेल्न सक्ने जोखिम रहेको उनले बताएका छन्।
उनको घोषणापछि स्थानीय राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिएका छन्। पार्टीको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।




