काठमाडौं । सिन्धुलीको मरिणमा निर्माणाधीन अवस्थामा रहेको खाद्य प्रशोधन उद्योगमा कार्यरत कामदारबीच विवाद चर्किँदा झडप भएको छ। घटनामा ७ जना कामदार घाइते भएका छन्।
हिमालयन फुड कम्पनी अन्तर्गत राँगाको मासु प्रशोधन गर्ने उद्योग परिसरमा सोमबार बिहान कामदारबीच भएको विवादले उग्र रूप लिएको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा कामबाट निकालिएको विषयलाई लिएर सुरु भएको असन्तुष्टि पछि झडपमा परिणत भएको थियो।
मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट हटाइएको विषय विवादको मुख्य कारण बनेको थियो। सोही विषयमा भएको बहस र तनावले दुवै पक्षका कामदारबीच हात हालाहालको अवस्था सिर्जना गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुली का प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार घटनामा २ नेपाली र ५ चिनियाँ नागरिक घाइते भएका छन्। झडपपछि कम्पनी परिसर केही समय तनावग्रस्त बने पनि अहिले अवस्था नियन्त्रणमा आएको छ।
घाइते नेपाली कामदारमध्ये बम्जनको दाहिने आँखा र खुट्टामा चोट लागेको छ। गम्भीर अवस्थाका कारण उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको छ। अर्का नेपाली कामदार उदयपुर कटारी–१२ का २२ वर्षीय गोकर्ण कटुवालको टाउकोमा चोट लागेको छ।
चिनियाँ नागरिकहरूमा ३८ वर्षीय मिस्टर याङको कान र टाउकोमा चोट, ४५ वर्षीय याङ हाइबोको बायाँ हातमा चोट, ४० वर्षीय छ्याङ छोङको छातीमा चोट तथा ४६ वर्षीय चुजेनको टाउको र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। ३१ वर्षीय लेउसेन्सीको टाउकोमा सामान्यदेखि मध्यम प्रकृतिको चोट रहेको बताइएको छ। उनीहरूको उपचार प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा भइरहेको छ।
घटनापछि उद्योग परिसरमा केही समय अशान्ति देखिए पनि सुरक्षा निकायको उपस्थितिपछि अवस्था सामान्य बनेको छ। प्रहरीले घटनाको कारण र जिम्मेवारीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। निर्माणाधीन उद्योगमा कामदार व्यवस्थापन र श्रम सम्बन्धमा देखिएको विवादले परियोजनाको कार्य प्रगतिमा समेत असर पार्ने सम्भावना देखिएको छ।




