देश

धादिङ बेनिघाट बस दुर्घटनापछि उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा भएको भीषण बस दुर्घटनापछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालय ले घटनाको वास्तविक कारण पत्ता लगाउन औपचारिक रूपमा समिति बनाउने प्रक्रिया सुरु गरेको जनाएको छ।

मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार आइतबार राति भएको दुर्घटनामा १९ जनाको मृत्यु भएपछि सोमबार मन्त्रालयमा उच्चस्तरीय छलफल भएको थियो। छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय का सचिव, सडक विभाग का महानिर्देशक, नेपाल यातायात व्यवसायी महासङ्घ तथा तीनवटै सुरक्षा निकायका प्रमुख सहभागी थिए।

बैठकले दुर्घटनाको प्राविधिक, व्यवस्थापकीय र मानवीय पक्षको समग्र अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो। यद्यपि समिति कसको नेतृत्वमा र कति सदस्यीय हुने भन्ने विषयमा अन्तिम टुङ्गो लागिसकेको छैन।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस भैंसेगौडा क्षेत्रमा त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो। घटनामा घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सरकारले समिति गठनको निर्णय गरेसँगै दुर्घटनाको कारण, सम्भावित लापरबाही र भविष्यमा यस्ता घटना नदोहरिन उपायबारे प्रतिवेदन तयार हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *