काठमाडौं । पुष्पकमल दाहालले कम्युनिष्ट शक्तिहरूबीच पुनः बृहत् एकताको सम्भावना औंल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक दाहालले एमालेसहितको वाम एकता अन्ततः सम्भव हुने विश्वास व्यक्त गरेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० परित्याग गरी नेकपामा प्रवेश गरेका कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नम्बर ६ का पूर्ववडाअध्यक्ष नुच्छे महर्जनलाई स्वागत गर्दै दाहालले राष्ट्रवादी शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको बताए। उनका अनुसार वाम शक्तिहरूबीचको समन्वयले देशको राजनीतिमा सकारात्मक सन्देश दिनेछ।
दाहालले वैचारिक आधारमा एकता र सहकार्यको ढोका खुला राखिएको संकेत गर्दै राजनीतिक स्थायित्वका लागि व्यापक ध्रुवीकरण आवश्यक रहेको धारणा राखे।
पार्टी प्रवेश गरेका पूर्वप्रमुख रमेश महर्जनले कीर्तिपुर–१० मा ‘तारा’ चुनाव चिह्नबाट उम्मेदवार रहेकी रुपा महर्जनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए। दाहालको पछिल्लो अभिव्यक्तिलाई आगामी सत्ता समीकरण र वाम राजनीतिमा सम्भावित पुनर्संरचनाको संकेतका रूपमा हेरिएको छ।




